अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष आफ्ना क्रिप्टोसम्बन्धी व्यवसायबाट करिब एक अर्ब २० करोड अमेरिकी डलर आम्दानी गरेको संघीय प्रतिवेदनले देखाएको छ ।
सार्वजनिक गरिएको प्रतिवेदनअनुसार पदभार ग्रहण गर्दा साना स्तरमा रहेका यी कम्पनीहरू अहिले ट्रम्पको दशकौँ लगाएर निर्माण भएको विशाल घरजग्गा व्यवसायभन्दा बढी आम्दानी गर्ने अवस्थामा पुगेका छन् ।
प्रतिवेदनअनुसार ट्रम्पले आफ्नो वर्ल्ड लिबर्टी फाइनान्सियल नामक कम्पनीबाट मात्रै ५० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेका छन् । उक्त कम्पनीले नयाँ क्रिप्टो उत्पादन र शासनसम्बन्धी टोकन बिक्री गरेको थियो ।
त्यस्तै, सीआईसी डिजिटल एलएलसी नामक अर्को कम्पनीले पनि ६० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त कम्पनीले ट्रम्पको तस्बिर अंकित स्मरणीय क्रिप्टो सिक्का बिक्री गरेको थियो । यद्यपि बिक्रीपछि ती टोकन र सिक्काको मूल्यमा उल्लेखनीय गिरावट आएको जनाइएको छ ।
ट्रम्पको क्रिप्टो व्यवसाय विस्तारमा दुई अर्बपति लगानीकर्ताले महत्वपूर्ण भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ । साथै, यस क्षेत्रमा कडा सरकारी नियमन लागू नगर्ने ट्रम्प प्रशासनको नीतिले पनि व्यवसायको आम्दानी बढाउन सहयोग पुगेको बताइएको छ ।
यसैबीच, ट्रम्पको परम्परागत घरजग्गा व्यवसायले पनि गत वर्ष उल्लेखनीय वृद्धि गरेको छ । उनले विभिन्न देशमा लाइसेन्ससम्बन्धी सम्झौता गरेका छन्, जसलाई उनको व्यवसायको हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विस्तारका रूपमा हेरिएको छ ।
प्रतिवेदनले तीमध्ये धेरै देश अमेरिकासँग भन्सार शुल्क, सैन्य सहायता तथा अन्य महत्वपूर्ण विषयमा वार्तामा रहेका बेला व्यापारिक सम्झौता भएको तथ्यलाई पनि उल्लेख गरेको छ ।