Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सामाजिक सञ्जालपछि एआई प्लेटफर्मलाई नियमन गर्दै अस्ट्रेलिया

अस्ट्रेलियाले अब केवल सामाजिक सञ्जाललाई मात्र नभई च्याटजीपीटी जस्ता कृत्रिम बुद्धिमत्ता (एआई) टुलमा पनि कडा नियन्त्रण लागू गर्ने तयारी गरेको छ । अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई हानिकारक सामग्रीबाट सुरक्षित राख्न नसके, कम्पनीमाथि कडा कानुनी कारबाही गरिने बताएको छ ।

नियम अनुसार, ९ मार्च २०२६ देखि अस्ट्रेलियामा काम गर्ने सबै अनलाइन सेवाहरूले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई अश्लील, अत्यधिक हिंसात्मक, आत्महत्या वा खाने व्यवहारसँग सम्बन्धित सामग्रीबाट रोक्नुपर्नेछ । नियामकले गूगल, एपल जस्ता एप स्टोर र सर्च इञ्जिनहरूलाई समेत यसमा जिम्मेवार बनाएको छ । यदि कुनै कम्पनी वा प्लेटफर्मले नियम उल्लङ्घन गर्यो भने ४.९५ करोड अस्ट्रेलियाली डलर (लगभग ४३२ करोड नेपाली रुपैयाँ) सम्मको जरिवाना लाग्न सक्नेछ ।

दुनियाका ५० लोकप्रिय एआई प्लेटफर्महरूको जाँच गर्दा मात्र ९ ले उमेर प्रमाणिकरण प्रणाली लागू गरेका छन् । ११ ले सामग्री फिल्टर लागू गर्ने वा अस्ट्रेलियामा सेवा बन्द गर्ने योजना बनाएका छन् भने ३० प्लेटफर्मले अहिलेसम्म कुनै ठोस सुरक्षा उपाय अपनाएका छैनन् । यद्यपि, च्याटजिपिटी, रेप्लिका र क्लाउड जस्ता प्लेटफर्मले उमेर जाँच र कडा फिल्टर लागू गर्न थालेका छन् । च्यारेक्टर एआईले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको च्याट सीमित गरेको छ ।

एपलले पनि नयाँ उपाय अघि सारेको छ । २४ फेब्रुअरी २०२६ देखि अस्ट्रेलियामा एडल्ट रेटेड एप्स केवल उमेर प्रमाणित प्रयोगकर्ताले मात्र डाउनलोड गर्न सक्ने व्यवस्था गरेको छ ।

अस्ट्रेलियाले यसअघि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइसकेको छ । हालसम्म च्याटबोटसँग सम्बन्धित हिंसात्मक घटना रिपोर्ट नआए पनि, प्रतिवेदन अनुसार १० वर्षसम्मका बालबालिकाले दैनिक छ घण्टा एआई टूल्स प्रयोग गरिरहेका छन् । अधिकारीहरूले एआई कम्पनीहरूले मानव भावनासँग खेल्ने प्रविधि प्रयोग गरिरहेको चेतावनी दिएका छन्, जसले बालबालिकालाई डिजिटल जालमा फसाइरहेको उनीहरुको आरोप छ ।

अस्ट्रेलियाको यो कदम विश्वकै सबैभन्दा कडा एआई नियमन प्रयासका रूपमा हेरिएको छ । विशेषज्ञहरूका अनुसार, आगामी समयमा अन्य देशहरूले पनि यसै प्रकारका नियम लागू गर्न सक्ने सम्भावना रहेको छ ।