Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

केएमसीमा नेपालमै पहिलोपटक ‘अर्बिटल एथेरेक्टोमी’ उपचार सफल

काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरी जटिल नसाको बिनाचिरफार सफल उपचार गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ । खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अंग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीका लागि यो अत्याधुनिक प्रविधिले नयाँ आशाको ढोका खोलेको छ । पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्तसञ्चार अवरुद्ध हुँदा असह्य पीडामा थिइन् । उनको खुट्टा नीलो हुने, घाउ निको नहुने तथा अत्यधिक चिसो हुने समस्या देखिएको थियो। केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभागका डा. कृष्ण बस्यालको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले उनको सफल उपचार गरेको हो । उपचार टोलीमा जनरल सर्जन डा. मनीष आचार्य, एनेस्थेसिया विशेषज्ञ डा. स्मृति कोइराला, जनरल सर्जन लोकेश आचार्यलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सहभागी थिए ।

बिरामीको मुख्य समस्या रक्तनलीभित्र जमेको कडा क्याल्सियमका कारण भएको अवरोध थियो । चिकित्सकहरूका अनुसार पहिलो चरणमा खुला शल्यक्रिया (ओपन सर्जरी) मार्फत नसाको मर्मत गरिए पनि तल्लो भागमा रहेको कडा अवरोध सामान्य विधिबाट हटाउन सम्भव थिएन । त्यसपछि चिकित्सकीय टोलीले ‘अर्बिटल इन्डोभास्कुलर एथेरेक्टोमी’ प्रविधिको प्रयोग गर्ने निर्णय गरेको थियो ।

photo-12_e18a9c81.jpg

यो प्रविधि नसाभित्र प्रवेश गरेर काम गर्ने अत्याधुनिक उपकरण हो । तारको माध्यमबाट नसाभित्र पुगेर यसले जमेको कडा क्याल्सियमलाई मसिनो कणमा परिवर्तन गर्छ र रक्तप्रवाह पुनः सञ्चालन हुने बाटो खुला गर्छ । यस प्रक्रियामा ठूलो चिरफार गर्नुपर्ने आवश्यकता पर्दैन ।

सफल उपचारपछि हीरामायाकी नातिले भनिन्, ‘वर्षौंदेखिको असह्य पीडाबाट मुक्ति पाएपछि हजुरआमाले दोस्रो जीवन पाएजस्तो लागेको छ । डाक्टर साबहरूले खुट्टा काट्नुपर्ने अवस्थाबाट बचाइदिनुभयो । उहाँहरूको यो योगदान हामी कहिल्यै बिर्सने छैनौँ ।’ 

photo-14_e5ecf541.jpg

उनले हजुरआमालाई नयाँ जीवन दिने चिकित्सक, नर्सिङ टोली तथा सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरिन् । केएमसीले हीरामायासँगै यही प्रविधिमार्फत जनकपुरका ४७ वर्षीय कल्याणलाल कर्णको समेत सफल उपचार गरेको छ । उनको एउटा खुट्टा यसअघि नै काटिसकिएको थियो भने अर्को खुट्टाको नसा पनि पूर्ण रूपमा बन्द भएको थियो । 

यस्तो जटिल अवस्थालाई समेत बिनाचिरफार उपचार गरेपछि केएमसीले रक्तनलीसम्बन्धी उपचारमा आफ्नो विशेषज्ञता थप स्थापित गरेको छ । सफल उपचारपछि कर्णले अस्पताल र उपचारमा संलग्न चिकित्सकीय टोलीप्रति आभार व्यक्त गरेका छन् । अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकको कुशल संयोजनका कारण अब नसा बन्द भएर अंग गुमाउनुपर्ने जोखिम भएका बिरामीका लागि नयाँ उपचार विकल्प उपलब्ध भएको छ । केएमसीको यो उपलब्धिले नेपालको चिकित्सा क्षेत्रमा बिना चिरफार गरिने अत्याधुनिक उपचार पद्धतिको दायरा थप विस्तार गरेको छ ।