Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

भारतमा पहिलो स्वदेशी हाइड्रोजन रेल सेवा सुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जीन्द रेल जङ्सनबाट देशकै पहिलो स्वदेशी हाइड्रोजन प्रविधिबाट सञ्चालन हुने रेलको उद्घाटन गरेका छन् । हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरिएको उक्त रेल जीन्ददेखि सोनीपतसम्मको ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ । भारत हाइड्रोजनबाट चल्ने रेल सञ्चालन गर्ने विश्वका पाँच देशमध्ये एक बनेको छ ।

भारतीय रेलमन्त्री अश्विनी वैष्णवले यो रेल स्वच्छ ऊर्जा र अत्याधुनिक स्वदेशी प्रविधिमा आधारित रहेको बताए । उनका अनुसार रेलमा जडान गरिएको हाइड्रोजन इन्धन प्रणालीले विद्युत् उत्पादन गरी रेल सञ्चालन गर्छ । यसबाट धुवाँ वा कार्बन उत्सर्जन हुँदैन र केवल पानी तथा जलवाष्प मात्र निस्कने भएकाले यो पूर्ण रूपमा वातावरणमैत्री प्रविधि हो । रेलमा २ हजार ४ सय किलोवाट क्षमताको हाइड्रोजन प्रणाली जडान गरिएको छ भने यसको सुरक्षा परीक्षण र प्रमाणीकरण अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ निकायबाट गरिएको जनाइएको छ ।

रेल सञ्चालनका लागि पानीबाट हाइड्रोजन उत्पादन गर्ने विशेष केन्द्र स्थापना गरिएको छ । भारतसँग यस प्रविधिसम्बन्धी बौद्धिक सम्पत्ति अधिकार पनि सुरक्षित रहेको रेल मन्त्रालयले जनाएको छ । मन्त्री वैष्णवका अनुसार यही प्रविधि भविष्यमा जलयातायात, साना तथा मध्यम आकारका डुङ्गा, ट्रकलगायत अन्य यातायातका साधनमा पनि प्रयोग गर्न सकिनेछ ।

ऊर्जा तथा यातायात क्षेत्रका विज्ञहरूले भने हाइड्रोजन रेलले जीवाश्म इन्धनमा निर्भरता घटाउने दिशामा महत्वपूर्ण संकेत दिएको बताएका छन् । यद्यपि भारतका अधिकांश फराकिलो रेलमार्ग पहिले नै विद्युतीकरण भइसकेकाले हाइड्रोजन रेल मुख्य विकल्पभन्दा पनि विशेष रुट तथा आवश्यकता भएका क्षेत्रमा बढी उपयोगी हुने उनीहरूको धारणा छ ।

विज्ञहरूका अनुसार नवीकरणीय ऊर्जाबाट कम लागतमा हरित हाइड्रोजन उत्पादन गर्न सकिएमा मात्रै दीर्घकालमा यो प्रविधिले भारतको ऊर्जा रूपान्तरण र जलवायु लक्ष्यमा ठूलो योगदान पुर्‍याउनेछ । हाइड्रोजन इन्धन प्रणालीले हाइड्रोजन र हावामा रहेको अक्सिजनको रासायनिक प्रक्रियाबाट विद्युत् उत्पादन गर्ने र त्यसैबाट रेलका मोटर सञ्चालन हुने गर्दछ ।