Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न दुर्गम स्वास्थ्य चौकीहरूमा नवजात शिशुको जीवन रक्षा गर्न आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। 

यस पहलमार्फत बैंकले नवजात शिशुको शारीरिक तापक्रमलाई सुरक्षित राख्न र अल्पताप (हाइपोथर्मिया) हुनबाट जोगाउन मद्दत गर्ने उद्देश्य राखेको छ। बैंकले सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा समेत सुनिश्चित गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको छ।

ज्योति विकास बैंकको पहलमा बझाङको मष्टा गाउँपालिका वडा नं. २ स्थित मष्टा स्वास्थ्य चौकी, खप्तडछान्ना गाउँपालिका वडा नं. ५ स्थित कालुखेती स्वास्थ्य चौकी, बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ३ स्थित पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र र अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नं. ६ स्थित भाटाकाटियाँ स्वास्थ्य चौकीमा बेबी वार्मर जडान गरिएको छ। 

उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य चौकीका पदाधिकारी, अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीहरू उपस्थित थिए। सो अवसरमा उपकरण सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो।

बैंकले यस अघि देशभरका अस्पताल, स्वास्थ्य चौकी र बर्थिङ सेन्टरहरूमा ६२ वटा बेबी वार्मर उपकरण उपलब्ध गराएको छ, जसले प्रत्येक वर्ष करिब २२९४ भन्दा बढी शिशुहरूको जीवन रक्षा गर्न सहयोग गरेको छ। 

हालसम्म करिब ११,४७० भन्दा बढी शिशुहरू प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन्। ज्योति विकास बैंकले जीवनरक्षण सम्बन्धी अतिप्रमुख क्षेत्रमा अग्रस्थानमा रहँदै समाजमा सकारात्मक योगदान पुर्‍याउँदै आएको छ।

आफ्नो खुद मुनाफाबाट बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा सामाजिक उत्तरदायित्व अन्तर्गत ५० प्रतिशत बढी रकम छुट्याएर समाजप्रति उत्तरदायी बनेको छ। 

संस्थागत सुशासनलाई आधार मानेर ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हितमा योगदान पुर्‍याउन बैंक प्रतिबद्ध रहेको छ। बैंकले आर्थिक वर्षमा रु. ४१ करोड कर योगदान गरेको छ।

हाल ज्योति विकास बैंकले ११८ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ।