Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

काँग्रेसको केन्द्रीय कार्यालयमा तालाबन्दी, केन्द्रीय समिति बैठक आज पनि स्थगित

नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । ४० वर्षमुनीका युवाहरुको कांग्रेस सुधार अभियानले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दा तालाबन्दी गरेको हो ।

अभियानले पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमै तालाबन्दी गरेको छ । उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । साथै अभियानमा सहभागी युवाहरुले केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन गर्ने निर्णय नगरेमा नेताहरुलाई घेराउ गर्ने चेतावनी पनि दिएका छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि स्थगित

काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि स्थगित भएको छ । आजको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउसो १ बजेदेखि बस्ने भनिएको भए पनि अन्तिम समयमा बैठक स्थगित गरेर मंगलबारका लागि सारिएको छ ।  यसअघि शुक्रबार बस्नुपर्ने बैठक महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्ने विषयमा कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति हुन नसकेपछि बस्दै नबसी स्थगित भएको थियो ।

महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नदिए आफु बैठकमा सहभागी नहुने चेतावनी दिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गरेका थिए । शुक्रबारपछि शनिबार र आइतबार बिहान भएका बैठकबाट पनि सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको छ ।

कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहेको छ भने बिधानमा एक बर्ष पदावधि थप्न सकिने व्यवस्था रहेको छ ।

त्यस्तै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दबाबमा यो केन्द्रीय समितिको बैठक रहेको छ ।