Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

साउने सङ्क्रान्ति मनाइँदै, आजदेखि दक्षिणायन सुरु

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । 

साउने सङ्क्रान्तिकै दिन सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजदेखि दक्षिणायन सुरु हुने धार्मिक विश्वास छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई हिन्दू धर्ममा विशेष महत्वका साथ मनाइन्छ।

nepal riabar.png

असार महिनाभर खेतबारीमा हिलोमैलोमा काम गर्दा लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्न वा मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने परम्परा रहिआएको छ । 

यस अवसरमा कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको पूजा गर्दै अगुल्टो फाल्ने चलन छ ।

लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने तथा घरका ढोका बन्द गर्ने प्रचलन पनि विभिन्न समुदायमा कायम छ । असारभरि कृषि कर्ममा व्यस्त रहेका किसानहरू यस दिन परिवार र आफन्तसँग भेला भएर रमाइलो गर्ने परम्परा पनि रहेको छ।

साउन महिनालाई भगवान् शिवको आराधनाको विशेष महिना मानिन्छ । यस महिनाभर महिलाहरूले हरियो चुरा, पोते र हरियो–रातो पहिरन लगाउने चलन छ। 

nepal riabar (1).png