Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

स्थानीयका माग १५ दिनमा पुरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता, फोहोरको अवरोध खुल्यो

ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनमा स्थानीयका माग पुरा गर्ने प्रतिबद्धता गरेपछि बञ्चरेडाँडा फोहर फाल्न दिन सहमति भएको छ ।

आइतबार बिहान मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटको अनुगमनपछि स्थानीयसँग छलफल गरेका थिए । छलफलमा स्थानीय जनप्रतिनिधि र नागरिकले यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएकोले आफुहरुले अवरोध गर्न बाध्य भएको मन्त्री घिसिङसँग राखेका थिए ।

त्यसपछि घिसिङले १५ दिन भित्र यसअघि गरिएका सहमति कार्यान्वयन गर्ने तर अहिलेलाई फोहोर फाल्न दिन आग्रह गरेपछि स्थानीय सहमत भएका हुन् । सहमतिसँगै बञ्चरेडाँडामा फोहोर फाल्न शुरु गरिएको छ ।

ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौता कार्यन्वयनमा संघीय सरकार र काठमाडौँ महानगरले चासो नदिएको भन्दै विगत चार दिनदेखि फोहोर फाल्न अवरोध गरेका थिए ।