Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

चक्रे मिलनलाई काठमाडौंबाट छुटे लगतै भक्तपुर लगियो

अभद्र व्यवहारको कसुरमा काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए पनि गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन रिहा हुन पाएनन् ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । तर उनीसँगै धरौटीमा छुटेका अन्य प्रतिवादी तत्काल रिहा भए पनि चक्रेलाई भने जिल्ला प्रहरी परिसर, काठमाडौंले भक्तपुरमा रहेको अर्को मुद्दाका कारण नछोडी भक्तपुर पठाइएको हो ।

भक्तपुर जिल्ला प्रहरीका अनुसार चक्रेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएकाले काठमाडौंबाट सीधै भक्तपुर ल्याइएको हो ।

साउन १५ गते उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त अपरेसनमा चक्रेसहित ४७ जनालाई मध्यराति महाराजगञ्जस्थित होटल साम्बालामा जन्मदिन पार्टीको क्रममा पक्राउ गरिएको थियो । तीमध्ये २८ जनालाई तत्कालै रिहा गरिएको थियो ।