Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कैलालीका सीडीओ हमाल मन्त्रालय तानिए

कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन्।कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनलाई गृह मन्त्रालय तानिएको हो ।

कैलालीको सीडीओमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई खटाइएको छ । दाङमा भने तत्काल कुनै निर्णय भइसकेको छैन । गत साता कैलाली कारागारमा झडप हुँदा एक कैदीको मृत्यु भएको थियो ।

झडपमा ४७ जना कैदीबन्दी घाइते भएका थिए । त्यसअघि नै कैदीबन्दीबीच विवाद देखिएको र समयमै सुरक्षा सतर्कता नअपनाउँदा उक्त घटना हुन पुगेको भन्दै हमाललाई सीडीओको जिम्मेवारीबाट अलग गरिएको हो । कैदीबन्दी आक्रामक बन्दा दुई दिनसम्म अवस्था तनावपूर्ण बनेको थियो ।

मानवअधिकार आयोगको टोलीले पनि कारागार निरीक्षण गरेको थियो । उक्त घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले जाहेरी पनि दिएको छ ।