Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मानवअधिकार आयोगले भन्यो– रविलाई राखिएको कोठामा हावा पास हुँदैन, उपयुक्त छैन

राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखिएको रुपन्देही कारागारको कोठामा हावा पास हुने अवस्था नभएको बताएको छ ।

रुपन्देही र कैलाली कारागार अनुगमनपछि आयोगले औपचारिक भनाइ सार्वजनिक गरेको छ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछानेलाई राखिएको रुपन्देही कारागारको आयोगकी सदस्य डा. लिली थापासहितको टोलीले हिजो अनुगमन गरेको थियो ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा हावा पास हुन नसकेको, कोठा बाहिर हिँडडुल गर्न नदिइएको उल्लेख छ । ‘कोठासँगै खुला शौचालय रहेकाले स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदा समेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको छ’, आयोगले भनेको छ ।

रुपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, सामाजिक सुरक्षा भत्ता पाउनु पर्नेहरू वञ्चित रहेको, बेलाबे जेलमा सर्प छिर्ने गरेको र आधारभूत आवश्यकता व्यवस्थापनका लागि पर्याप्त बजेट नभएको पाइएको आयोगले बताएको छ ।

यस्तै कैलाली कारागारमा हिंसात्मक मुठभेड हुँदा राज्य संयन्त्रले समस्या समाधानको पर्याप्त पहल नगरेको, सुरक्षाकर्मीको संख्या न्यून रहेको, सुरक्षा चेकजाँच अत्यन्तै फितलो हुनुका साथै स्थानान्तरण प्रक्रिया अपारदर्शी रहेको आयोगको निचोड छ ।

कारागारको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन, कारागारलाई सुधार गृहको रूपमा विकास गर्न, कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलाप पारदर्शी बनाउन, कैदीबन्दीप्रति मानवोचित व्यवहार गर्न साथै देशभरका कारागारलाई मानव अधिकारमैत्री बनाउन सरकारलाई आयोगले निर्देशन समेत दिएको छ ।