Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कैलाली कारागार घटना : मृत्तकका परिवारले दिए जाहेरी, चौंथो दिन शव उठाउने तयारी

कैलाली कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव उठाउन परिवार चौंथो दिन (सोमबार) तयार भएका छन् । प्रदेश सरकारले मृतकका परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख क्षतिपूर्ति घोषणा र छोरीको पढाइको जिम्मेवारी प्रशासनले मिलाउने प्रतिबद्धता जनाएपछि शव बुझ्न तयार भएको मृतकका भाइ विजय चौधरीले जानकारी दिएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले शवको पोस्टमार्टम सकिएको र आजै आफन्तलाई शव बुझाउन लागिएको बताए । मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनु पर्ने, हाल आठ कक्षामा अध्ययनरत छोरी बन्दनालाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग राख्दै थिए ।

लागूऔषध सेवनको आरोपमा चौधरीलाई माघ ४ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो । परिवारका अनुसार करिब एक महिना प्रहरी थुनामा रहेपछि डेढ वर्षको जेल सजाय तोकिएर कारागार चलान गरिएको थियो । भरतको परिवारमा कक्षा आठमा अध्ययनरत एक छोरी, आमा र भाइ छन् । छलफल पछि जिल्ला प्रहरी कार्यालयका मृतकका परिवारले जाहेरी पनि दिएका छन् ।

उक्त जाहेरी दर्ता भएर अनुसन्धान अघि बढिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । जाहेरी दर्ता पछि मृतकका आफन्तहरू शव बुझ्न तयार भएको र पोस्टमार्टम प्रक्रिया सुरु भएको उनले जानकारी दिए ।