Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

चक्रे मिलनविरुद्ध भक्तपुरमा पनि ज्यान मार्ने उद्योगमा मुद्दा

जन्मदिन मनाउने क्रममा मध्यरातसम्म हो–हल्ला गरेपछि गत विहीबार पक्राउ परेका गुण्डा नाइके चक्रे मिलनविरुद्ध भक्तपुरस्थित जिल्ला प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भएको छ ।

२०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनामा उनको संलग्नता पुष्टि भएपछि मुद्दा चलाउने तयारी रहेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । अहिले अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रहरी काठमाडौंबाट मुद्दा चलिरहेकाले उनी हाल भद्रकालीस्थित प्रहरी हिरासतमा छन् ।

भक्तपुर प्रहरी प्रवक्ता न्यौपानेका अनुसार, काठमाडौं प्रहरीको हिरासतमा रहेकै अवस्थामा उनको बयान लिने काम अगाडि बढेको छ । उक्त मुद्दा प्रहरी वृत्त, थिमीले अगाडि बढाउने भएको हो । थिमी प्रहरी वृत्तका डीएसपी नवराज ढुंगानाका अनुसार एक वर्ष पुरानो मुद्दामा उनको वतन नखुलेका कारण वतन खुलाएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढ्ने छ ।

भक्तपुरका बासिन्दा मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै ‘डुँडे’ भनी होच्याएका थिए । त्यसपछि चक्रे आर्फैले फोन गरेर रायमाझीलाई धम्क्याएका थिए । भदौ ४ गते चक्रेका सहयोगी अजित खवाससहितको टोलीले सांघातिक हमला गरेको थियो । सोही घटनापछि रायमाझीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा चलेको थियो ।

उक्त जाहेरी भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते दर्ता भएको थियो । जाहेरीमा प्रतिवादीका रूपमा पहिलो नाम चक्रेकै थियो । तर, ठेगाना नखुल्दा प्रहरीले खवासलाई मात्र प्रतिवादी बनाएको थियो ।

चक्रेको हकमा उनी पक्राउ परेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम अभियोगपत्र दायर गरिने गरी मुद्दा बुझाइएको थियो । रायमाझीको जाहेरीमा प्रतिवादी बनाइएका चक्रे मिलन नै अहिले काठमाडौं प्रहरीको हिरासतमा रहेका व्यक्ति हुन् भन्ने कुरा प्रमाणित गर्ने प्रक्रियामा प्रहरी छ ।

कुटपिटको उक्त घटनामा संलग्न व्यक्ति पहिचानको प्रक्रिया पनि जारी रहेको थिमी वृत्तका डीएसपी ढुंगानाले बताए । अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेका १९ प्रतिवादीभित्रै उक्त घटनामा संलग्न व्यक्ति पनि हुनसक्ने आशंका गरिएको छ । ‘काठमाडौंमा मुद्दा सकिनासाथ हामी ल्याउँछौं र अनुसन्धान गर्छौं’, भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताए ।