Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बबई नदीको बीचमा फसेका दुई जनाको सकुशल उद्वार

बर्दियाको गुलरिया नगरपापिका–५ बालापुरस्थित बबई नदीको बीच भागमा फसेका दुई जनाको साउन २० गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

सोही ठाउँ बस्ने ७५ वर्षिय मोतिलाल चौधरी र ६९ वर्षिय देवी प्रसाद थारु गाईवस्तु चराउन गएको समयमा एक्कासी पानीको बहाव बढेपछि सो नदिको बीच भागमा फसेका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नविन थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरुलाई मोटर बोटको सहायताले सकुशल उद्वार गरेको हो । उद्वार गरिएको दुवै जनाको अवस्था भने सामान्य रहेको छ ।

त्यसैगरी बबई नदिमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरु डुवान पर्नसक्ने सम्भावित स्थानहरुमा सशस्त्र प्रहरी परिचालन भई सुरक्षित स्थानमा रहन भनिएको छ । बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमल १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ । जहा पानीको सतह ६ दशमल ८० पुगेपछि खतरा लेवल मानिन्छ ।

डुवानमा पर्नसक्ने क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामाग्रीसहित तयारी हालतमा राखिएको छ ।