Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

धाँजा फाटेको धान खेतमा आकाशे वर्षाको पानी जम्यो

रौतहटमा लगातार तीन दिनदेखि आकाशे वर्षाका कारण  खेतमा पानी जमेको छ । खडेरीका कारण धाँजा फाटेको धान खेतमा अहिले आकाशे वर्षाको पानी जमेको हो ।

वर्षा नभएर धान रोप्न नपाएका र रोपेको धान पनि सुकेर गएको समयमा साउन तेस्रो सातामा आएर पर्याप्त वर्षा हुँदा किसानलाई राहत मिलेको स्थानीय मीन प्रसाद मैनालीले बताए ।उनका अनुसार लामो समयको प्रतिक्षापश्चात पर्याप्त वर्षा हुँदा धानलाई राहत मिलेको छ । अहिले परेको पानीले बाँझो रहेको खेतमा रोपाइँ गर्न र रोपिसकेको रोपो सुक्नबाट जोगिएको उनको भनाइ छ । वर्षाले गर्मीको राप पनि घटाएको उनले बताए ।

Photo (12).jpg

खडेरी र घामले डढ्नै लागेको धानमा वर्षाले हरियोपन ल्याएको छ । आकासे वर्षासंगै गण्डक नहरपनि पानी छाडेकाले किसान खुसी भएका छन् । भारतीय पक्षले दिएको साढे ६ सय क्युसेक पानी गण्डक नहरमा ब्लक नम्बर १२ सम्म पानी पुगेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहले बताए ।

यो नहरको पानी रौतहटसम्म पुग्ने उनले बताए । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम विभागका अनुसार रौतहटमा उक्त अवधिमा १५९ मिलिमिटर वर्षा भएको हो । आइतबार र सोमबार परेको लगातारको वर्षाका कारण बागमती तथा लालबकैया नदीको जलस्तर बढेको छ ।

Photo (4).jpg

गौरका सडक नै जलमग्न बनेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले  वर्षाबाट क्षति भएको भनी कहिँकतैबाट कुनै जानकारी नआएको जानकारी दिएको छ ।