Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

महिला अधिकारका लागि दबाव अभियान अन्तर्गत धर्ना कार्यक्रम सुरु, संविधान दिवसमा वृहत र्‍यालीको तयारी

महिला अधिकारको पूर्ण कार्यान्वयनको माग गर्दै आज माईतीघर मण्डलामा महिला अधिकारका लागि दबाव अभियानले धर्ना कार्यक्रम सुरु गरेको छ। संविधानले सुनिश्चित गरेका अधिकारहरूलाई व्यवहारमा लागू गराउन तथा विभेदकारी कानून निर्माणको प्रतिकार स्वरूप आयोजना गरिएको यो कार्यक्रम केही साता अघि सम्पन्न वृहत र्‍यालीको निरन्तरता हो।

अभियानले महिला विरुद्ध हुने हिंसा, दण्डहिनता, कानूनी राज्यको कमजोर कार्यान्वयन र लोकतन्त्र सुदृढिकरणका सवालमा निरन्तर दबाव सिर्जना गर्दै आएको छ। धर्ना कार्यक्रममा महिला मानव अधिकार रक्षक, सामाजिक अभियन्ता, सञ्चारकर्मी, विद्यार्थी, अधिवक्ता तथा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरूको उल्लेखनीय सहभागिता देखिएको छ। दोलखा, पाँचथर, अछाम, ललितपुर, चितवन, गोदावरी लगायतका जिल्लाबाट महिला मानव अधिकार रक्षकहरूको सञ्जालले ऐक्यवद्धता जनाएका छन्।

WhatsApp Image 2025-08-03 at 22.14.11_127e51a5.jpg

साथै, ओरेक, महिलाको निम्ति महिला मञ्च नेपाल, परिवर्तनका लागि सहकार्य नेपाल, नेपाल महिला एकता समाज, तरंगिनी फाउन्डेसन, दृष्टि नेपाल, मायाको संसार, क्रियाशील महिला संघ, स्वासा नेपाल, शान्ती फाउन्डेसन, ल्याक, सि.डब्लु.ए.डि, फेडो, डब्लु.एस.पि.जि, एन.एम.वि.एस, जे.एम.एस.एस, नयाँ यात्रा नेपाल, पहिचान सञ्जाल काठमाडौँ र ललितपुर लगायतका संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको छ।

WhatsApp Image 2025-08-03 at 22.13.13_580944e2.jpg

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरस्वती वजिमय, महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जाल अध्यक्ष श्यामकुमारी शाह लगायतले ऐक्यवद्धता जनाउँदै महिला अधिकारको सवालमा देशव्यापी अभियान आवश्यक रहेको धारणा राखे। सहभागीहरूले नेताहरूको कार्यशैलीमा सुधार आवश्यक रहेको, महिला विरोधी भाषणहरू बन्द गर्नुपर्ने तथा राज्यले महिलाको शरीरमाथि नियन्त्रण गर्न खोज्ने कानूनी प्रस्तावहरू हिंसात्मक रहेको टिप्पणी गरेका थिए।

WhatsApp Image 2025-08-03 at 22.14.12_e55ef01f.jpg

धर्नामा "संविधानले दिएको हक, कानूनमा किन भयो लक", "मेरो शरीर मेरो अधिकार", "दण्डहिनता अन्त्य गर", "कानूनको नाममा महिला हिंसा बन्द गर", "बहुविवाहको प्रस्ताव खारेज गर", "लैंगिक न्याय विना लोकतन्त्र अधुरो छ" लगायतका नाराहरू लगाइएको थियो। अभियानले संविधान दिवसको अवसरमा देशभर संवैधानिक अधिकार सुनिश्चतताका  र पूर्ण कार्यान्वयनको मागसहित वृहत र्याली आयोजना गर्ने जानकारी दिएको छ। काठमाडौँमा हुने र्यालीमा हजारौंको सहभागिता रहने अपेक्षा गरिएको छ।

WhatsApp Image 2025-08-03 at 22.14.14_a1a98777.jpg

धर्नामा १०० भन्दा बढीको ऐक्यवद्धता सहित प्रत्यक्ष सहभागिता रहेको थियो । अभियानले धर्नामा ऐक्यवद्धता जनाउने सबैलाई धन्यवाद दिँदै, महिला अधिकारको सवालमा अझ व्यापक सहभागिता जरुरी रहेको उल्लेख गरेको छ।

WhatsApp Image 2025-08-03 at 22.13.14_a079c501.jpg