प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ ।
यही साउन १६ गतेदेखि सुरु स्थायी कमिटी बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा विषयमा स्थायी कमिटी सदस्यले धारणा राख्ने क्रम जारी छ ।
शनिबार १८ स्थायी कमिटी सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए । जारी स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै पक्षमा धारणा राखेका छन् ।
शुक्रबारबाट सुरू भएको बैठकमा प्रस्तुत सातवटा एजेण्डामाथि शनिबार २५ जना सदस्यहरूले धारणा राखेका हुन् । शनिबार बोल्ने अधिकांश स्थायी समिति सदस्यहरूले अहिलेकै नेतृत्वलाई बलियो बनाएर लैजानुपर्ने धारणा राखेको एक सदस्यले बताए । शनिबार बोल्ने अधिकांश सदस्यहरूले पार्टी उपमहासचिव जनार्दन शर्मालाई आत्मसमीक्षा गर्न र आत्मालोचित हुन सुझाव दिएको ती नेताको दाबी छ ।
शर्माले पछिल्लो समय अध्यक्ष प्रचण्डको कार्यशैलीलाई लिएर प्रश्न गरिरहेका छन् । अध्यक्षको नेतृत्वशैलीबारे प्रश्न उठाउँदा पार्टी छाडेर जान भनेको भन्दै उनले सार्वजनिक रूपमै असन्तुष्टि पोख्दै आएका छन् ।
शनिबारको बैठकमा वर्षमान पुन, देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, ओनसरी घर्ती, राम कार्की, मातृका यादव, जयपुरी घर्ती, कमला रोक्का, खगराज भट्ट, प्रह्लाद बुढाथोकी, कुलप्रसाद केसी, महेश्वर गहतराज, अमृता थापा, अञ्जना विशंखे, शशी श्रेष्ठ, सत्य पहाडी, अमृता थापामगर, जोखबहादुर महरा, लगायत २५ जनाले धारणा राखेका थिए ।
शुक्रबार अध्यक्ष प्रचण्डले भदौ महिनामा अभियान सञ्चालन गर्ने र दसैंपछाडि केन्द्रीय समिति बैठक गर्नु उपयुक्त हुने प्रस्ताव राखेका थिए । यही स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्नेछ ।