रामेछापको सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । कटानका कारण ठूला गाडी चलाउन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् ।
गए रातिदेखि परेको वर्षाका कारण आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला गाडीको आवातजावत पूर्ण रूपमा रोकिएको छ ।
मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ । दुई पाङ्ग्रे गाडीबाहेक अन्य गाडी चलाउन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।
पुल जोखिममा रहेको थाहा पाएपछि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिएको थियो ।
गए राति वर्षाले बनाइएका संरचनासमेत बगाएको स्थानीय केदारप्रसाद ढुङ्गेलले बताए । खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण पौडेलले खोलामा आएको कटान शुरु गरेपछि सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता गरिएका कारण यो अवस्था आएको बताए ।
रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाडौं वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुँदै आएको छ । गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा, रामेछाप र ओखलढुङ्गाका धेरै गाडी यही बाटो भएर काठमाण्डौ आवतजावत गरेका थिए ।
अहिले पनि खुर्कोटको पुलमा १५ टनभन्दा बढी भारवहन बोकेका गाडी यही बाटो भएर जिल्ला सदरमुकाम मन्थली भित्रिने र काठमाडौं तथा तराईका विभिन्न भागमा आवतजावत गरिरहेकामा अहिले सबै आवागमन रोकिएको छ ।