Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

श्रीमतिले यातना दिएको भन्दै जब ‘महाभारत’का ‘कृष्ण’ प्रहरीको शरणमा पुगे

भारतीय टेलिभिजन सिरियल ‘महाभारत’मा ‘भगवान कृष्ण’को भूमिका निभाएका अभिनेता नितिश भारद्वाज आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आएका छन् । उनले आफूमाथि आफ्नी पूर्व श्रीमति आईएएस स्मिता भारद्वाजले मानसिक यातना दिएको आरोप लगाएका छन् । उनको यो आरोपले जोकोही चकित भएका छन् ।

नितिशले पूर्व पत्नीविरुद्ध भोपाल प्रहरीका कमिश्नर हरिनारायणाचारी मिश्रलाई इमेल गर्दै उजुरी दिएका छन् । उनले उजुरीमा आफ्ना दुई छोरीलाई स्मिताले भेट्न नदिएको उल्लेख गरेका छन् । नितिशका दुई जुम्ल्याहा छोरी छन् । अभिनेताको उजुरीपछि प्रहरीले अनुसन्धानको आदेश दिएको छ । प्रहरी कमिश्नर मिश्रले आफूले नितिशको पत्र पाएको पुष्टि गरेका छन् ।

नितिशले सन् २००९ मा स्मितासँग विवाह गरेका थिए । स्मिता र नितिशको यो दोस्रो विवाह थियो । दुवैको भेट केही साथीभाईमाझ भएको थियो । जुन भेटपछि उनीहरुको दोस्ती र प्रेम बस्यो । कमै भेटमा दुवैले विवाह गर्ने निर्णय लिए । तर उनीहरुको वैवाहिक सम्बन्ध लामो समय टिक्न पाएन । विवाहको १२ वर्षपछि अर्थात् सन् २०२२ मा दुवैले सम्बन्धविच्छेद गरे । यद्यपि उनीहरु सन् २०१९ मै अलग्गिएका थिए ।