Jul 10 2026

Jul 10 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

गणेश नेपालीको निधनपछि कलाकारहरू आक्रोशित : राज्यले गणेशको हत्या गर्‍यो

गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर कलाकारहरू सरकारको विरोधमा देखिएका छन् ।

आर्थिक समस्यामा रहेका गणेश सडक अनुसाशनका लागि तिराइने जरिवानाको भारले आत्मदाह गर्ने निर्णयमा पुगेको परिवार पक्षको दाबी छ ।

यतिबेला गणेशको निधन भइसकेको छ । त्यसपछि नायिका पूजा शर्माले गणेशको आत्मदाहलाई राज्यले गरेको हत्या भनेकी छन् । उनको भनाइ छ, ‘गणेश नेपाली कुनै समाचारको शीर्षक मात्र होइनन् । उनी एक मानव थिए, एक मेहनती श्रमिक थिए, सपना बोकेका नागरिक थिए, निर्दयी र संवेदनाहीन प्रशासनिक व्यवस्थाको बोझले थिचिएका । यो कुनै सामान्य दुर्घटना थिएन । यो राज्यको गम्भीर लापरवाहीको परिणाम हो । यो हत्या हो ।’

नायिका रेखा थापा लेख्छिन्- ‘जुन सरकार आए पनि सबैभन्दा पहिला गरिबलाई नै मार्ने भयो ।’

त्यस्तै अर्की नायिका केकी अधिकारीले राज्य जहिल्यै नागरिकको समस्या समधानमा केन्द्रित नरहेको आशय राखिन् । उनले सांकेतिक रुपमा राज्यलाई घोचेकी छन्, ‘जलेको मनलाई धेरै समय सम्हाले, हिजो त तन न जलेको हो सरकार ! गणेश ।’

यो घटना कलाकार दीपकराज गिरीको बुझाइमा बलियो जनमतमा बनेको सरकार कमजोर बनाउन काफी विषय हो । उनले भनेका छन्, ‘अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ ।’