Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

नेपालको सानदार विजयी सुरुआत

सावित्री धामीको उत्कृष्ट अर्धशतक र बलरहरूको घातक प्रदर्शनमा नेपालले एसिसी महिला यू–१९ प्रिमियर कपको पहिलो खेलमा कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुआत गरेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल स्टेडियममा १३१ रनको लक्ष्य पछ्याएको कतार १२ ओभरमै २५ रनमा अलआउट भयो। कतारका ब्याटरहरू नेपाली बलिङसामु टिक्न सकेनन्। टोलीले १२ रन अतिरिक्त पाए पनि ब्याटबाट भने केवल १३ रन मात्रै जोड्न सक्यो।

कतारका लागि सेगम पटेलले ४ रन र कप्तान किसेता श्रवणकुमारले ३ रन बनाइन्। चार खेलाडी १–१ रनमा आउट भए भने अन्य चार ब्याटरले रनको खाता नै खोल्न सकेनन्।

नेपालका लागि रचना कुमारी चौधरी र रिया शर्माले समान ३–३ विकेट लिए। रचनाले ३ ओभरमा २ रन मात्र खर्चेर ३ विकेट झारिन् भने रियाले ३ ओभरमा ६ रन दिएर ३ विकेट हात पारिन्। मनिषा उपाध्यायले २ तथा अनु कडायतले १ विकेट लिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो। ओपनर साना प्रविण र सावित्री धामीले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै बलियो आधार तयार पारे।

साना २७ रनमा आउट भइन् भने कप्तान सोनी पाख्रिन खाता नै नखोली पभेलियन फर्किइन्। त्यसपछि सावित्रीले ४७ बलमा ५ चौकासहित ५२ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। अञ्जिला पाठक २२ रनमा अविजित रहिन्। कतारका लागि लिहाना अवेशकाराले २ तथा फातिमा मुकादमले १ विकेट लिइन्।