जुड बेलिङ्घमको उत्कृष्ट दुई गोलको प्रेरणामा इङल्याण्डले अतिरिक्त समयमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा रहेको इङल्याण्डले अब सेमिफाइनलमा अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
कडा गर्मी र आर्द्रताबीच भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेले ३६औँ मिनेटमा अग्रता लिएको थियो । आन्द्रेयास शेल्डेरुपको प्रहार इङल्याण्डका गोलरक्षक जोर्डन पिकफोर्डलाई झुक्याउँदै जालीमा पुगेपछि नर्वे अघि बढेको थियो । तर पहिलो हाफको अतिरिक्त समयमा बेलिङ्घमले एन्थोनी गोर्डनको पासलाई सदुपयोग गर्दै गोल गरेपछि इङल्याण्ड खेलमा फर्किएको थियो ।
दोस्रो हाफअघि इङल्याण्डका प्रशिक्षक थोमस टुचेलले अस्वस्थता र चोटसँग संघर्ष गरिरहेका डेक्लान राइस तथा नोनी मादुकेलाई विश्राम दिँदै एबेरेची एजे र बुकायो साकालाई मैदानमा उतारेका थिए । दोस्रो हाफमा नर्वेले केही राम्रो अवसर सिर्जना गरेको थियो । टोरब्योर्न हेग्गेमको गोल एर्लिङ हालान्डले इलियट एन्डरसनलाई धकेलेको कारण अमान्य घोषित भयो । डेभिड मोलर वोल्फेको हेडर क्रसबारमा लागेर फर्किएको थियो । निधारित ९० मिनेटमा १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो ।
अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिङ्घमले फेरि निर्णायक भूमिका निभाए । वैकल्पिक खेलाडी मोर्गन रोजर्सको प्रहार नर्वेका गोलरक्षक ओर्जान निल्यान्डले पूर्ण रूपमा नियन्त्रण गर्न नसक्दा फर्किएको बललाई बेलिङ्घमले गोलमा परिणत गर्दै इङल्याण्डई २-१ को जित दिलाए ।
यससँगै इङल्याण्ड पछिल्ला ६० वर्षमा तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । यसअघि सन् १९९० मा पश्चिम जर्मनी र सन् २०१८ मा क्रोएसियासँग पराजित भएको इङल्याण्ड यसपटक इतिहास दोहोर्याउने नभई नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछ ।