Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

फिल्म ‘कर्मा मिट्स किस्मत’मा मेनुकाले गीत गाउने

गायन रियालिटी शो ‘इण्डियन आइडल १४’मा सहभागी भएकी गायिका मेनुका पौडेलले बलिउड अभिनेता सञ्जय मिश्राको अभिनय रहने फिल्म ‘कर्मा मिट्स किस्मत’मा गाउने भएकी छन् ।

लेखक तथा निर्देशक गीताञ्जली सिन्हाको निर्देशन रहेको फिल्ममा फरीदा जलाल, अलका अमीन, वैष्णवी मेकडोनाल्ड, अम्मान खान र नुपुर शर्माको पनि अभिनय छ ।फिल्ममा सोनू निगम र साधना सरगमको पनि स्वर रहनेछ । भारतीय समाचार एजेन्सी आइएनएएसले आफ्नो समाचारमा लेखेको छ ।

‘म त्यो माया र आशीर्वादबाट धेरै प्रभावित छु, जसले मेरा लागि यो सुन्दर बाटो प्रशस्त गरेको छ । यो फिल्मको हिस्सा बन्नु एउटा ठूलो आशीर्वाद हो । यो कथामा मलाई गहिराईबाट प्रेरित गरेको छ । यो रोमान्टिक सूफी गीत एक उत्कृष्ट कृति हो, जुन सिधा हृदयमा उत्रन्छ र मलाई यसको शुद्धतम रुपले प्रेमको सम्झना गराउँछ’, मेनुकाले भनेकी छन् ।

‘अरन सर र लेखक–निर्देशक गीताञ्जली दिदीसँग काम गर्नु एक अभूतपूर्व सिक्ने अनुभव थियो । रेकर्डिङ समयको दौरान ममा जोश थियो, जसकारण म बिना कुनै हिचकिचाहट हृदयबाट गाउन पाएँ । म पूर्ण रुपले शुद्ध, बिना शर्त प्रेको भावनामा डुबेको थिएँ’, उनले अगाडि भनेकी छन् ।लेखक तथा निर्देशक गीताञ्जलीले गायनमा मेनुकालाई लिनुपर्ने कारण बताएकी छन् । ‘मेनुकाको स्वरमा इमान्दारिता र पवित्रता छ । जसले मलाई चुम्बकको जस्तै उनीतर्फ तान्यो । यो गीतमा सोझो र अटुट दृढ विश्वासको माग थियो, जुन मेनुकाको प्राकृतिक गायन शैलीसँग मेल खान्छ’, उनले भनेकी छन् ।