Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रतिनिधिमण्डलबीच छेन्दुमा भेटवार्ता, के-के भयो कुराकानी?

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज छेन्दु सहरमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सचिव एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष वाङ सियाहोई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी वक्तव्यको स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच पारवहन सन्धिको कार्यान्वनले नेपाल अब भूपरिवेष्ठित देश नभई भूसम्बन्ध जोड्ने देश भएको बताए ।

सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको र प्रचण्डको नेतृत्वमा नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरे । नेपाल र चीन बीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको समेत वाङले बताए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि छेन्दुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ ।