Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

इन्जिनियरिङलाई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्छ- मन्त्री विराजभक्त श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले इन्जिनियरिङलाई केवल एउटा पेशा नभई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । 

६४औँ इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत्, प्रसारण लाइन, सिँचाइ, खानेपानी, भवन तथा सूचना प्रविधिसहितका पूर्वाधार विकासले नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउदै आधुनिक, दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमार्फत देशको समृद्धिको आधार तयार गर्ने जिम्मेवारी इन्जिनियरहरूको काँधमा रहेको बताएका हुन् ।

उनले सरकारले जलविद्युत् उत्पादन विस्तार, प्रसारण सञ्जाल सुदृढीकरण, सिँचाइ प्रणाली आधुनिकीकरण, नवीकरणीय ऊर्जाको विकास, डिजिटल पूर्वाधार विस्तार तथा जलवायु अनुकूल विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।

मन्त्री श्रेष्ठले अब विकास आयोजनाको सफलता बजेट खर्चका आधारमा मात्र नभई समयमै सम्पन्न हुने, गुणस्तर कायम हुने, लागतमा अनुशासन रहने र नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने परिणामका आधारमा मूल्याङ्कन गरिने स्पष्ट पारे। त्यसका लागि इन्जिनियरहरूबाट उच्च व्यावसायिक दक्षता, नैतिकता, पारदर्शिता र नवप्रवर्तनशील सोच आवश्यक रहेको उनको भनाइ थियो।

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधार बन्दै गएको उल्लेख गर्दै उनले जलविद्युत् उत्पादन वृद्धि, क्षेत्रीय विद्युत् व्यापार तथा आधुनिक प्रविधिको प्रयोगमा दक्ष इन्जिनियरहरूको भूमिका अझ महत्वपूर्ण रहने विश्वास व्यक्त गरे।

मन्त्री श्रेष्ठले पूर्वाधार विकासलाई केवल कङ्क्रिट र फलामको संरचनामा सीमित गर्न नहुने उल्लेख गर्दै यसले उत्पादन, रोजगारी, सामाजिक न्याय र नागरिकको जीवनस्तर सुधारमा प्रत्यक्ष योगदान पुर्‍याउने बताए। उनले सम्पूर्ण इन्जिनियरहरूलाई व्यावसायिक इमानदारी, गुणस्तर र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै देशको समृद्धिका लागि अझ जिम्मेवार र सिर्जनशील भएर काम गर्न आह्वान गरे।