Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पारस र चन्दसँगको छलफलपछि चीन जान तयार भए सन्दीप

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने मंगलबार एसियाली खेलकुदका लागि चीन प्रस्थान गर्दैछन्। बलात्कार मुद्दामा पछिल्ला दुई पेशी अदालतले रोकेपछि सन्दीप मानसिक रूपमा खेल्नका लागि तयार नभएको भन्दै चीन नजाने अडानमा थिए। यद्यपि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र क्यानका सचिव पारस खड्कासँग गएराति छलफलपछि उनी चीन जान तयार भएका हुन्। सचिव खड्काले देशको प्रतिनिधित्वको विषय भएकाले सन्दीपलाई चीन जान आग्रह गरेका थिए। उनले अदालतको मुद्दामा चाँडो फैसला हुनुपर्नेमा क्यानको समान धारणा रहेको भन्दै सन्दीपलाई मानसिक रूपमा कमजोर नहुन र देशका लागि प्रतिनिधित्व गर्न आग्रह गरेपछि सन्दीप पनि तयार भएका हुन्। त्यस्तै, अध्यक्ष चन्दले पनि सन्दीपलाई महत्तपूर्ण प्रतियोगिता भएकाले ऊर्जाशील भएर खेल्नका लागि आग्रह गरेका थिए।