मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकैको खहरे खोलामा मंगलबार दुई पटक सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान करिब ७: ३० बजे खसेको सुख्खा पहिरोका कारण सडक दुवैतर्फ अवरुद्ध भएको थियो । पहिरो हटाएर करिब पाँच घण्टापछि सवारी आवागमन सञ्चालनमा ल्याइए पनि करिब डेढ घण्टामै सोही क्षेत्रमा फेरि सुख्खा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो ।
दोस्रो पटक खसेको पहिरो हटाएपछि करिब एक घण्टापछि सडकमा सवारी आवागमन पुनः सुचारु गरिएको कार्यालयले जनाएको छ ।
सडक डिभिजनका अनुसार यो पहिरो खसेको स्थान पूर्ण रूपमा नयाँ भएकाले उक्त क्षेत्रमा थप पहिरो खस्ने जोखिम उच्च रहेको अनुमान गरिएको छ ।
सवारी चालकलाई सुरक्षाका लागि सो क्षेत्रमा एकतर्फी लेनबाट सावधानीपूर्वक, हतार नगरी सवारी सञ्चालन गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।