अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो ले सन् २०३० को पुरुष विश्वकपमा सहभागी टोलीको संख्या ६४ पुर्याउने प्रस्तावमाथि गम्भीर रूपमा छलफल हुने संकेत दिएका छन् ।
स्विस सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले सन् २०२६ को विश्वकप सम्पन्न भएपछि फिफाका सम्बन्धित समितिहरूमा यस विषयमा औपचारिक छलफल हुने बताएका हुन् । उनले विश्वका प्रत्येक देशले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्छ, किनकि त्यसले साना राष्ट्रलाई पनि आफ्नो फुटबल स्तर सुधार्न र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अघि बढ्न प्रेरणा दिने बताएका छन् ।
इन्फान्टिनोले विश्वभरका टोलीहरूको स्तर निरन्तर उकासिँदै गएको उल्लेख गर्दै साना देशलाई विश्वकपमा सहभागी हुने अवसर नदिइए उनीहरूको विकासको गति सुस्त हुन सक्ने धारणा व्यक्त गरेका छन् ।
सन् २०२६ को विश्वकप पहिलो पटक ४८ टोलीको सहभागितामा आयोजना भएको छ र अब प्रतियोगिता अन्तरिम चरणमा पुगेको छ । यसअघि सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ टोलीले मात्र प्रतिस्पर्धा गर्ने व्यवस्था थियो ।
फिफा अध्यक्षले ३२ बाट ४८ टोलीमा गरिएको विस्तारलाई पूर्ण रूपमा सफल भएको मूल्याङ्कन गरेका छन् । उनका अनुसार यस निर्णयले विश्व फुटबलको विकासमा सकारात्मक प्रभाव पारेको छ । यदि भविष्यमा ६४ टोलीको ढाँचा लागू गरिए अझ धेरै देशले विश्वकपमा सहभागिताको अवसर पाउनेछन् । यद्यपि त्यसका लागि खेल संख्या, आयोजना व्यवस्थापन र अन्य प्राविधिक पक्षमा चुनौती पनि थपिने उनले स्वीकार गरेका छन् ।
सन् २०३० को विश्वकप इतिहासकै विशेष संस्करण हुने अपेक्षा गरिएको छ । प्रतियोगिता तीन महादेशका छ देशमा आयोजना हुनेछ । उद्घाटन विशेष खेल उरुग्वेमा हुनेछ भने अर्जेन्टिना, पाराग्वे, मोरक्को, पोर्चुगल र स्पेन पनि सह-आयोजक रहनेछन् । सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको उरुग्वेले प्रतियोगिताको शताब्दी वर्षका अवसरमा विशेष उद्घाटन खेलको आयोजना गर्नेछ ।