अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२५ को डेभलपमेन्ट अवार्डका विजेताको घोषणा गरेको छ । विश्वभर क्रिकेटको विकास, सहभागिता, महिला क्रिकेट प्रवर्द्धन, सामाजिक प्रभाव, डिजिटल पहुँच र टोलीको प्रदर्शनमा योगदान पुर्याउने उत्कृष्ट कार्यक्रम तथा पहललाई सम्मान गर्दै आईसीसीले सात विधामा पुरस्कार प्रदान गरेको हो ।
आईसीसी अध्यक्ष जय शाहले यी पुरस्कारले विश्वभर क्रिकेटको विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने सदस्य राष्ट्रहरूको योगदानलाई सम्मान गर्ने बताए । उनले विजेता कार्यक्रमहरूले क्रिकेटमार्फत अवसर सिर्जना गर्ने, समुदाय बलियो बनाउने र खेलको पहुँच विस्तार गर्ने काम गरेको उल्लेख गरे ।
यस वर्ष संयुक्त अरब इमिरेट्स क्रिकेट बोर्ड सबैभन्दा सफल रह्यो । उसले तीन विधामा सम्मान प्राप्त गर्यो । युएईको १५ वर्षमुनिको महिला क्रिकेट एकेडेमी लिगले उत्कृष्ट विकास पहलको पुरस्कार जित्यो भने महिला क्रिकेट विकास कार्यक्रमतर्फ पनि युएई र टर्की क्रिकेट संयुक्त विजेता बने । युएई महिला टोलीले जिम्बाब्वेविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै महिला टोलीको उत्कृष्ट प्रदर्शन पुरस्कार हात पार्यो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलो शृंखलामै युएईले जिम्बाब्वेसँग २-२ को बराबरी खेलेको थियो भने त्यसपछि भएको टी–२० शृंखलामा २–० को जित निकाल्दै विदेशी भूमिमा उच्च वरीयताको टोलीविरुद्ध पहिलो शृंखला जितेको थियो ।
पुरुष टोलीतर्फ इटाली क्रिकेट संघले पहिलो पटक पुरुष टी–२० विश्वकपमा स्थान बनाएको उपलब्धिका लागि पुरस्कार जित्यो । जापान क्रिकेट संघले डिजिटल माध्यमबाट समर्थक जोड्ने उत्कृष्ट अभियानका लागि सम्मान पायो भने ब्राजिल क्रिकेट संघले महिला विश्वविद्यालय कार्यक्रममार्फत सामाजिक प्रभाव सिर्जना गरेको भन्दै पुरस्कार प्राप्त गर्यो । त्यस्तै नाइजेरिया क्रिकेट संघले महिला सहभागिता बढाउने क्रिकेट महोत्सवका लागि पुरस्कार जितेको आइसीसीले जनाएको छ ।