झापाको भद्रपुर नगरपालिका–३ स्थित एक घरबाट अवैध रूपमा लुकाएर राखिएको ठूलो परिमाणको खरबुजाको बिउ प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ भद्रपुर-३ ज्ञानेचोक निवासी भीमलाल सुवेदीको घरका दुईवटा कोठामा अवैध रूपमा खरबुजाको बिउ लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरी उपरीक्षक वसुन्धरा खड्काको नेतृत्वमा ५५ सदस्यीय प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी घरको खानतलासी गर्दा ४० किलोका दरले ९४८ बोरा, अर्थात् कुल ३७ हजार ९२० किलो खरबुजाको बिउ फेला पारेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको बिउ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।