जारी फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । अब उपाधि नजिक पुग्न फ्रान्सले स्पेनसँग तथा इङ्ग्ल्यान्डले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन डलास रंगशालामा आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच एटलान्टा रंगशालामा प्रतिस्पर्धा हुनेछ ।
क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई र स्पेनले बेल्जियमलाई पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् । फ्रान्स र स्पेनबीच यो ३६औँ भेट हुनेछ । दुवै टोली विश्वकपको फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । हालका वर्षहरूमा युरोपेली प्रतियोगितामा फ्रान्सले स्पेनलाई लगातार निराश बनाएको छ । फ्रान्सले सन् २०२४ को युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्पेनलाई २-१ ले पराजित गरेको थियो । त्यसपछि सन् २०२५ को राष्ट्र लिगमा पनि फ्रान्सले स्पेनलाई ५-४ ले हराएको थियो ।
यसपटक स्पेन ती हारको बदला लिँदै विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । विश्वकपमा यी दुई टोलीबीच यसअघि एकपटक मात्र भेट भएको थियो । सन् २००६ को विश्वकपको नकआउट चरणमा जिनेदिन जिदानको नेतृत्वमा रहेको फ्रान्सले स्पेनलाई ३-१ ले पराजित गरेको थियो । युरोपेली च्याम्पियनसिपमा भने दुवै टोली पाँचपटक आमनेसामने भएका छन् । सन् १९८४ को फाइनलमा फ्रान्सले घरेलु मैदानमा स्पेनलाई २-० ले हराउँदै उपाधि जितेको थियो । सन् २०१२ को क्वार्टरफाइनलमा स्पेनले २-० को जित निकालेको थियो भने सन् १९९६ मा दुवै टोली १-१ को बराबरीमा रोकिएका थिए । सन् २००० को क्वार्टरफाइनलमा भने फ्रान्स २-१ ले विजयी भएको थियो ।
फ्रान्स यस विश्वकपमा स्विडेन, पाराग्वे र मोरक्कोलाई हराउँदै अन्तिम चारमा पुगेको हो । युरोपेली च्याम्पियन स्पेनले अस्ट्रिया, पोर्चुगल र बेल्जियमलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । यस खेलमा फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे र स्पेनका युवा प्रतिभा लामिन यामालबीचको प्रतिस्पर्धा पनि विशेष आकर्षणको केन्द्र रहने अपेक्षा गरिएको छ ।
दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुनेछन् । विश्वकपमा यी दुई टोलीबीचको प्रतिस्पर्धा सधैँ इतिहास, विवाद र तीव्र प्रतिस्पर्धाका कारण विशेष मानिन्छ ।
यी दुई राष्ट्रबीचको सबैभन्दा चर्चित भेट सन् १९८६ को विश्वकपमा भएको थियो । क्वार्टरफाइनलमा अर्जेन्टिनाले डिएगो म्याराडोनाको दुई ऐतिहासिक गोलको मद्दतमा इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो । तीमध्ये एउटा ‘ईश्वरको हात’ नामले चर्चित गोल थियो भने अर्को गोललाई विश्व फुटबल इतिहासकै उत्कृष्ट गोलमध्ये एक मानिन्छ । त्यसको चार वर्षपछि सन् १९९० को विश्वकपको क्वार्टरफाइनलमा पनि दुवै टोली आमनेसामने भएका थिए । त्यसबेला अर्जेन्टिनाले पेनाल्टी सुटआउटमार्फत जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
विश्व फुटबलका दुई शक्तिशाली टोलीबीचको यो प्रतिस्पर्धा केवल खेलमा सीमित नरही राष्ट्रिय गौरव, प्रतिष्ठा र ऐतिहासिक प्रतिस्पर्धासँग पनि जोडिएको मानिन्छ। त्यसैले यसपटकको सेमिफाइनल पनि विश्वकपकै सबैभन्दा प्रतिक्षित खेलमध्ये एक बनेको छ।