फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच हुने खेलअघि रेफ्री टिमको नियुक्तिलाई लिएर नयाँ बहस सुरु भएको छ ।
यस खेलका मुख्य निर्णायक फाकुन्डो टेलोसहित सहायक रेफ्री, चौथो रेफ्री र अन्य सबै खेल अधिकारी अर्जेन्टिनाका राखिएपछि सामाजिक सञ्जाल र फुटबल वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन् । कसैले यसलाई फ्रान्सलाई विश्वकपबाट बाहिर राख्ने षडयन्त्रको रुपमा समेत ब्याख्या गरेका छन् । फ्रान्स र मोरक्कोबीच हुने विश्वकप क्वार्टरफाइनल सञ्चालन गर्ने सम्पूर्ण निर्णायक टोली अर्जेन्टिनाबाट रहेका छन् । जसमा फाकुन्डो टेलो, मुख्य रेफ्री, सहायक रेफ्रीहरु जुआन पाब्लो बेलाट्टी र गेब्रियल चाडे रहेका छन् । त्यस्तै चौथो रेफ्रीमा दारियो हेरेरा र वैकल्पिक सहायक रेफ्रीमा क्रिस्टियन नाभारो रहेका छन् ।
तर फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पले भने यस विषयलाई विवादमा ल्याउन अस्वीकार गरेका छन् । उनले खेलअघिको पत्रकार सम्मेलनमा निर्णायक टोलीप्रति पूर्ण विश्वास रहेको बताउँदै आफ्नो टोलीको ध्यान केवल मोरक्कोविरुद्धको खेलमा केन्द्रित रहेको स्पष्ट पारे । फ्रान्सका वैकल्पिक गोलरक्षक रोबिन रिसेरले पनि नियुक्त भएका अधिकारीहरू विश्वकपस्तरको खेल सञ्चालन गर्न योग्य रहेको विश्वास व्यक्त गरेका छन् ।
यसअघि अर्जेन्टिना र इजिप्टबीचको अन्तिम १६ को खेलमा भिडियो सहायक निर्णायकको सहायताबाट इजिप्टको एक गोल रद्द गरिएपछि निर्णायकको निर्णयमाथि व्यापक विवाद भएको थियो । त्यसपछि इजिप्टका खेलाडी र प्रशिक्षकले निर्णायकमाथि अन्याय गरेको आरोप लगाएका थिए, जसका कारण विश्वकपको निर्णायक प्रणाली फेरि चर्चामा आएको छ ।
फ्रान्स यस विश्वकपमा हालसम्म सर्वाधिक १४ गोल गर्दै उत्कृष्ट लयमा छ भने किलियन एम्बाप्पे, उस्मान डेम्बेले, माइकल ओलिसे र ब्राड्ली बारकोलाको आक्रमण प्रभावशाली देखिएको छ । उता अशरफ हाकिमीको नेतृत्वमा रहेको मोरक्को पनि इतिहास रच्ने लक्ष्यका साथ मैदान उत्रिने भएकाले यो क्वार्टरफाइनल खेलसँगै निर्णायकको प्रदर्शनमाथि पनि विशेष चासो रहने अपेक्षा गरिएको छ ।