Jul 10 2026

Jul 10 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

गणेश नेपालीको मृत्युप्रति वीर अस्पतालले के भन्यो ?

त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको विषयमा वीर अस्पतालले शरीरको करिब ५५ प्रतिशत भाग जलेर अत्यन्तै नाजुक र जटिल अवस्थामा भर्ना भएका नेपालीको आज बिहान ११:१९ बजे निधन भएको जनाएको छ ।

मुगु जिल्ला सोरु गाउँपालिका- १ निवासी नेपालीलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएदेखि नै सघन उपचार कक्षमा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा चौबीसै घण्टा निरन्तर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ । 

उनको ज्यान बचाउन अस्पतालका प्लास्टिक सर्जरी, एनेस्थेसिया, र क्रिटिकल केयर विधाका वरिष्ठ विशेषज्ञ चिकित्सक तथा नर्सिङ स्टाफको टोलीले निरन्तर प्रयास गरिरहेको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको अस्पतालले उल्लेख गरेको छ ।

अस्पतालका अनुसार उनलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारी समेत भइरहेको भएपनि अचानक स्वास्थ्य स्थितिमा गम्भीर आकस्मिक जटिलता उत्पन्न भएपछि चिकित्सकहरूले तत्काल आपतकालीन सीपीआर  र जीवनरक्षक औषधिहरू प्रदान गरी बचाउने अन्तिम क्षणसम्म प्रयास गरेका थिए । उपलब्ध उच्चतम चिकित्सा सेवा र अथक प्रयासका बाबजुद बिरामीलाई बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । 

वीर अस्पतालले भनेको छ: 

मुगु जिल्ला, सोरु गाउँपालिका वडा नं. १ निवासी २५ वर्षीय गणेश नेपाली शरीरको करिव ५५ प्रतिशत भाग जलेको (Severe Burn) अत्यन्तै नाजुक र जटिल अवस्थामा हिजो यस अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको थियो । अस्पताल भर्ना भएदेखि नै उहाँको जीवन रक्षाका लागि यस अस्पतालको विशेषज्ञ टोलीले आइसियु (I.C.U.) मा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा चौबीसै घण्टा निरन्तर उपचार गरिरहेको थियो ।

बिरामीको संवेदनशीलतालाई मध्यनजर गर्दै अस्पतालका प्लाष्टिक सर्जरी, एनेस्थेसिया, र क्रिटिकल केयर विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू तथा नर्सिङ स्टाफको टोलीले उहाँको ज्यान बचाउनका लागि चिकित्सा विज्ञानले भ्याएसम्मका सबै किसिमका प्रयासहरू गरिरहेका थिए । उहाँलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारी समेत भइरहेको अवस्थामा अचानक स्वास्थ्य स्थितिमा गम्भीर आकस्मिक जटिलता उत्पन्न भएपछि चिकित्सकहरूले तत्काल आपतकालीन सीपीआर (CPR) र जीवनरक्षक औषधिहरू प्रदान गरी बचाउने अन्तिम क्षणसम्म अथक प्रयास जारी राखेका थिए ।

यसरी अस्पतालको बहु-विशेषज्ञ टोली र राज्य संयन्त्रको तर्फबाट रात-दिन नभनी उपलब्ध सबै प्रविधि, औषधि र विशेषज्ञताको प्रयोग गरी निरन्तर प्रयास गर्दागर्दै पनि उहाँको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन । उपचारकै क्रममा आज शुक्रवार बिहान ११:१९ बजे उहाँको दुःखद र असामयिक निधन भएको छ ।

उपलब्ध उच्चतम चिकित्सा सेवा र अथक प्रयासका बावजुद बिरामीलाई बचाउन नसकेकोमा वीर अस्पताल परिवार पूर्ण रूपमा स्तब्ध भएको छ । स्वर्गीय गणेश नेपाली ज्यूको दुःखद निधन प्रति वीर अस्पताल परिवार र नेपाल सरकार गहिरो दुःख र संवेदना व्यक्त गर्दछ । साथै, यस अपूरणीय क्षतिको कठिन घडीमा शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौ ।