Jul 10 2026

Jul 10 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

वीर अस्पतालले भन्यो- गणेश नेपालीको अवस्था कुनै पनि समय बिग्रन सक्छ

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको अवस्था गम्भीर रहेको वीर अस्पतालले जानकारी दिएको छ ।

शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिदै वीर अस्पतालले नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिएको हो ।

अस्पतालले नेपालीको शरीर करिब ५५ प्रतिशत जलेको र उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिइएको छ ।

अस्पतालले नेपालीको अवस्था अहिले नै ठोस रूपमा भन्न नसकिने र कुनै पनि समयमा अवस्था बिग्रन सक्ने पनि बताएको छ ।

सरकारले बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि उनको अवस्था स्थिर नभएकाले त्यो सम्भव नभएको अस्पतालले बताएको छ ।

नेपालीको रक्तचाप अत्यधिक रहेको र भेन्टिलेटरमै भारत लैजाँदा अवस्था झन् बिग्रन सक्ने भएकाले स्वास्थ्य अवस्थामा सुधार नआएसम्म लैजान जोखिम हुने अस्पतालले जानकारी दिएको छ ।

हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उनको उपचार गरिरहेको छ । 

बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी आफैले आफ्नो शरीरमा आगो लगाएका नेपालीलाई दिउँसो ३ बजे वीर अस्पतालमा ल्याइएको थियो ।