Jul 10 2026

Jul 10 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

रकेट प्रविधिमा चीनको ठूलो सफलता, पहिलो पटक बुस्टरको समुद्रमा सुरक्षित अवतरण गराइयो

चीनले अन्तरिक्ष प्रविधिमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै पहिलो पटक रकेटको सहायक भाग (बुस्टर) लाई समुद्रमा सुरक्षित रूपमा अवतरण गराउन सफल भएको छ । यो सफलताले पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिको विकासमा चीनले नयाँ फड्को मारेको मानिएको छ ।

चीनले शुक्रबार दक्षिणी प्रान्त हाइनानबाट लङ मार्च–१० बी रकेट प्रक्षेपण गरेको थियो । उडान सुरु भएको करिब ६ मिनेटपछि सहायक भाग मुख्य रकेटबाट छुट्टिएर नियन्त्रित रूपमा समुद्रमा बनाइएको विशेष मञ्चमा अवतरण गरेको थियो । त्यहाँ जडान गरिएको विशेष जालले त्यसलाई सुरक्षित रूपमा समातेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

चीनका अनुसार रकेटको सहायक भागलाई यसरी नियन्त्रित रूपमा फिर्ता ल्याउने यो देशको पहिलो सफल परीक्षण हो । विज्ञहरूका अनुसार प्रत्येक प्रक्षेपणपछि सहायक भागलाई पुनः प्रयोग गर्न सकिए अन्तरिक्ष अभियानको लागत उल्लेखनीय रूपमा घट्नेछ भने प्रक्षेपणको गति पनि बढ्नेछ ।