Jul 07 2026

Jul 07 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मनसुन सक्रिय, तर धान रोपाइँको गति कमजोर

मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँको चटारो सुरु भए पनि यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ ।

कृषि विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असार २२ गतेसम्म देशभर कुल धान रोपाइँ योग्य क्षेत्रफलको जम्मा ३२.३८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्ष (२०८२) को सोही अवधिसम्म देशमा ४५ प्रतिशत रोपाइँ भइसकेको थियो । प्राप्त तथ्याङ्क अनुसार यतिबेला सुदूरपश्चिम प्रदेशमा रोपाइँको उत्साह सबैभन्दा बढी देखिएको छ भने मधेस प्रदेश सबैभन्दा पछाडि परेको छ ।

कोशी प्रदेश: यस प्रदेशमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टर धान उत्पादन योग्य क्षेत्रफलमध्ये हालसम्म ८७ हजार ३३ हेक्टर (३१.५%) मा रोपाइँ सकिएको छ। गत वर्ष यस अवधिमा २९.५ प्रतिशत रोपाइँ भएको थियो।

मधेस प्रदेश: मधेस प्रदेशमा यो वर्ष रोपाइँ निकै सुस्त छ। ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमध्ये ६० हजार ३४६ हेक्टर (१५.६%) मा मात्र रोपाइँ भएको छ। गत वर्ष यसै अवधिमा यहाँ २५.१ प्रतिशत रोपाइँ भइसकेको थियो।

बागमती प्रदेश: बागमतीमा १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ३८ हजार २६ हेक्टर (३३.२%) मा रोपाइँ सकिएको छ। गत वर्षको ५१.९ प्रतिशतको तुलनामा यो निकै कम हो।

गण्डकी प्रदेश: यहाँ ९३ हजार ६ सय ६ हेक्टरमध्ये ३८ हजार ३ सय ८९ हेक्टर (४१.०%) मा रोपाइँ भएको छ। गत वर्ष यस अवधिमा ५५.६ प्रतिशत रोपाइँ भएको थियो।

लुम्बिनी प्रदेश: ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमध्ये १ लाख १२ हजार ५ सय ९ हेक्टर (३७.३%) मा रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यहाँ ५२.१ प्रतिशत रोपाइँ भइसकेको थियो।

कर्णाली प्रदेश: कर्णालीका किसानले ४३ हजार २ सय ९० हेक्टरमध्ये १७ हजार ५ सय ४९ हेक्टर (४०.५%) क्षेत्रफलमा धान रोपिसकेका छन्। गत वर्ष यस अवधिमा यहाँ ७१.७ प्रतिशत उच्च रोपाइँ भएको थियो।

सुदूरपश्चिम प्रदेश: धान रोपाइँमा यो वर्ष सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि छ। १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ७ सय ४२ हेक्टर अर्थात् ५७.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । यद्यपि, गत वर्षको तुलनामा (८२.८%) भने यो वर्ष यहाँ पनि रोपाइँको दर घटेको देखिन्छ ।

नेपालभर कुल १३ लाख ७० हजार ६२ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकोमा असार २२ गतेसम्म ४ लाख ४३ हजार ५ सय ९५.०९ हेक्टरमा मात्र धान रोपिएको छ । विज्ञहरूका अनुसार मनसुन भित्रिन लागेको ढिलाइ, केही स्थानमा समयमा वर्षा नहुनु र सिँचाइको असुविधाका कारण गत वर्षको तुलनामा यस वर्ष रोपाइँको प्रतिशतमा गिरावट आएको हो ।