जारी फिफा विश्वकप फुटबलको सबैभन्दा आकर्षक व्यक्तिगत पुरस्कारमध्ये एक गोल्डेन बुट को दौड थप रोचक बनेको छ । सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने यो पुरस्कारका लागि विश्व फुटबलका शीर्ष फरवार्डहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
यसपटकको विश्वकपमा विशेष नजर फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेमाथि छ । विश्वकपको इतिहासमा कुनै पनि खेलाडीले दुई पटक गोल्डेन बुट जित्न सकेको छैन । सन् २०२२ को विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका एम्बाप्पेले यस वर्ष पनि उपाधि जित्न सके नयाँ इतिहास रच्नेछन् ।
एम्बाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो अभियान उत्कृष्ट रूपमा सुरु गरेका थिए । तर अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थान कब्जा गरेका छन् ।
यस्तै, इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन र नर्वेका स्ट्राइकर इर्लिङ हालान्ड पनि सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धामा बलिया दाबेदारका रूपमा रहेका छन् । हाल मेसी, एम्बाप्पे र हालान्ड ७-७ गोल सहित शिर्ष स्थानमा छन् भने इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै इङल्याण्डका जुड बेलिङघम, उसमान डेम्बेले, र स्पेनका मिकेल ओयारजाबाल ४-४ गोलसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै ब्राजिलका भिनिसियस जुनियर, मेक्सिकोका जुलियन क्यूइनोनेज र सेनेगल सारले पनि ४-४ गोल गरेका भए पनि उनीहरु विश्वकपबाट बाहिरिएकाले गोल्डेन बुटको दौडबाट पनि बाहिरिएका छन् ।
प्रतियोगिता अघि बढ्दै जाँदा यी स्टार खेलाडीबीचको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
गोल्डेन बुट विजेता निर्धारण गर्दा सर्वप्रथम गोलको संख्या हेरिन्छ । यदि दुई वा बढी खेलाडीको गोल बराबर भएमा सर्वाधिक असिस्ट गर्ने खेलाडीलाई अगाडि राखिन्छ । असिस्ट पनि बराबर भए सबैभन्दा कम समय मैदानमा खेलेको खेलाडीलाई विजेता घोषित गर्ने फिफाको नियम छ ।