Jul 06 2026

Jul 06 2026 | सोमवार, आषाढ २२ गते २०८३

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आर्यन राई

श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रदेश खारेजी विषयलाई लिएर संविधानका मूलभूत व्यवस्थामाथि छेडछाड गर्न खोज्नु उचित नहुने बताएका हुन् । 

उनले भने, ‘वर्तमान सरकारले संविधान संशोधनको नाममा प्रदेश खारेजको नाममा लोकतन्त्र सङ्घीयता धर्म निरपेक्षमाथि छेडखानी जुन दुष्साहस गर्नु हो । यदि संविधान संसेशन गर्ने हो भने एक तिहाइ महिलाको अधिकार संविधानमा सुनिश्चित छ त्यसलाई ५० प्रतिशत पुर्‍याइयो ।’

संविधानमा सुनिश्चित गरिएको एकतिहाइ महिला प्रतिनिधित्वलाई बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्ने बताउँदै उनले आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु तथा अन्य पछाडि पारिएका समुदायका अधिकारलाई अझ प्रभावकारी बनाउने गरी संशोधन गर्नुपर्ने बताए ।

‘आदिवासी जनजाति दलित मधिसे मुस्लिम थारु जस्ता पछाडि पारेको समुदाय माथि उठाउने विद्यार्थी मजदुरको पक्षमा २०७२ मा जारी भएको संविधान कहाँ कहाँ अधिकार कुन्थीत गरेको छ । त्यो उनीहरूको अधिकार पुर्न विचार गरेर संविधान संशोधन गरियोस्,’ उनले भने ।

उनले संविधान संशोधनको नाममा लोकतान्त्रिक व्यवस्थामाथि छेडखानी गरियो भने विरोध हुने समेत बताए । 

उनले भने, ‘संविधान संशोधनको नाममा लोकतन्त्रमाथि छेडखानी गरियो भने सिंहदरबारमा बस्ने शासकहरूको विद्धमा विरोध हुन्छ ।’