राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले देशका विभिन्न स्थानका बोइलर कुखुरा पाल्ने किसान बर्डफ्लुको हल्लाका कारण गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बर्डफ्लुको त्रासका कारण कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने तथा किसानको ठूलो लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको बताइन् ।
उनले भनिन, ‘हाल देशका विभिन्न स्थानमा बोइलर कुखुरा पालन किसानहरुले बजारमा बर्ड फ्लुको हल्लाको त्रासका कारण गम्भिर समस्या भोगिरहेको जानकारी गराउनु भएको छ । यसबाट कुखुराको मासु तथा अण्डाको माग घट्ने बजार मूल्यमा गिरावट आउने र किसानको ठूलो लगानीमा जोमिख पर्ने अवस्था सिर्जना भएको छ ।’
उनले बर्डफ्लु पुष्टि हुने प्रक्रिया चलिरहेकै अवस्थामा नेपाल टेलिकमको रिङटोनमार्फत किसानलाई थप मार पर्ने खालको सूचना प्रसारण गरिएको भन्दै त्यसप्रति पनि आपत्ति जनाइन् ।
सांसद तामाङले वास्तविक प्रयोगशाला परीक्षणका आधारमा संक्रमण पुष्टि भएको हो वा केवल आशंकाका आधारमा त्यस्ता सूचना जारी गरिएको हो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको बताइन्।
‘पुष्टि हुने प्रक्रियामा रहँदैगर्दा नेपाल टेलिकमको रिङटोनमा नेपाली कृषकलाई मार पर्ने सूचना समेत सम्प्रेषण गरियो । यस सन्दर्भमा वास्तविक प्रयोगशाला परिक्षण, प्रमाणका आधारमा पुष्टि भएका हुन् कि केवल आशांकाका आधारमा जारी भएका हुन् यो विषयमा स्पष्टा दिन अन्त्य आवश्यक देखिन्छ,’ उनले भनिन् ।
उनले बर्डफ्लु संक्रमण पुष्टि भएको भए त्यसको नियन्त्रण, रोकथाम तथा किसानको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न, सत्यतथ्यमा आधारित सूचना प्रवाह गर्न र किसानको मेहनत, लगानी तथा जीविकोपार्जन अनावश्यक रूपमा जोखिममा पर्न नदिन नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइन् ।
‘वास्तवमै बर्ड फ्लु संक्रमण पुष्टि भएको हो भने यसको नियन्त्रण, रोकथाम किसानको संरक्षणको लागि तत्काल प्रभावकारी कदम र सत्य तथ्य परक सूचना प्रवाह गरि नियन्त्रण गरियोस् ताकि किसानको मिहेनत लगानी र जीविको पार्जन अनावश्यकरुपमा जोखिममा नपरोस् भन्दै नेपाल सरकार र सम्बन्धित निकायमो गम्भिर ध्यानआर्षण गराउन चाहान्छु,’ उनले भनिन् ।