अमेरिकाका फरवार्ड फ्लोरिन बालोगुनमाथि लगाइएको निलम्बन फिफाले एकाएक स्थगित गरेपछि विश्व फुटबलमा विवाद चर्किएको छ । फिफाको अनुशासन संहिताअनुसार गम्भीर फाउलका लागि रातो कार्ड पाउने खेलाडीलाई कम्तीमा दुई खेलको प्रतिबन्ध लाग्नुपर्ने व्यवस्था छ । विश्वकपका नियमअनुसार रातो कार्डविरुद्ध अपिल गर्ने अधिकारसमेत टोलीलाई हुँदैन ।
यद्यपि फिफाले बालोगुनको प्रतिबन्ध स्थगित गर्ने निर्णय सार्वजनिक गर्दा कुनै कारण वा विस्तृत व्याख्या दिएको छैन । उसले केवल अनुशासन संहिताको धारा २७ उल्लेख गर्दै उक्त धाराअन्तर्गत अनुशासनात्मक कारबाही पूर्ण वा आंशिक रूपमा स्थगित गर्न सकिने जनाएको थियो ।
यो व्यवस्था निकै फराकिलो भएकाले फिफालाई विशेष परिस्थिति देखाएर निर्णय गर्ने अधिकार दिन्छ । तर विश्वकपको अनुशासन प्रणालीको आधारभूत सिद्धान्त नै रातो कार्डमा अपिल गर्न नपाइने भएकाले आयोजक राष्ट्रका प्रमुख खेलाडीका लागि किन विशेष व्यवस्था गरियो भन्ने प्रश्न उठेको छ ।
बालोगुनमाथिको रातो कार्ड र त्यसपछि लागेको प्रतिबन्धले अमेरिकामा ठूलो विवाद निम्त्याएको थियो । अमेरिकी सञ्चारमाध्यमले उनले बोस्नियाविरुद्धको खेलको अन्तिम २७ मिनेट गुमाउनुका साथै बेल्जियमविरुद्धको खेल पनि गुमाउनुपर्ने भएकाले दोहोरो सजाय भएको टिप्पणी गरेका थिए ।
अमेरिकी प्रशासनबाट समेत दबाब परेको दाबी गरिएको छ। विदेशमन्त्री मार्को रुबियोले रातो कार्डको निर्णय अन्यायपूर्ण भएको बताउँदै अपिलको व्यवस्था हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए । त्यसबेला पनि फिफाले अचानक प्रतिबन्ध हटाउने निर्णय गर्ला भन्ने अपेक्षा धेरैले गरेका थिएनन् ।
प्रतिबन्ध स्थगित भएपछि बालोगुन बोस्नियाविरुद्ध केही समय मैदानबाहिर बसेपछि पुनः खेल्न योग्य बनेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोस्नियाविरुद्धको खेलपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर बालोगुनको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेको दाबी गरेका छन् । यद्यपि यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत फिफाले ठूलो अन्याय सच्याएको भन्दै धन्यवादसमेत दिएका छन् । यदि ती दाबी सत्य ठहरिए राजनीतिक हस्तक्षेपबारे थप प्रश्न उठ्ने निश्चित देखिन्छ । फिफाको विधानले फुटबलमा राजनीतिक हस्तक्षेपलाई स्पष्ट रूपमा निषेध गरेको छ ।
यसअघि पनि फिफाको आचार समितिसमक्ष इन्फान्टिनोविरुद्ध राजनीतिक तटस्थता उल्लङ्घन गरेको आरोपमा अनुसन्धानको माग गरिएको थियो । त्यसैले अमेरिकी प्रशासनको प्रभाव परेको प्रमाणित भए फिफामाथि थप दबाब पर्ने सम्भावना छ ।
फिफाले बालोगुनको निर्णयबारे कुनै स्पष्ट कारण नदिए पनि प्रतियोगिताअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमाथिको स्थगित प्रतिबन्धको उदाहरण देखाएको थियो । रोनाल्डोले छनोट चरणमा रातो कार्ड पाएपछि तीन खेलको प्रतिबन्ध पाउनुपर्ने अवस्था थियो । उनले एउटा खेल मात्र गुमाए भने बाँकी दुई खेलको प्रतिबन्ध स्थगित गरिएको थियो । तर त्यो निर्णय विश्वकपको खेलमा नभई छनोट चरणको घटनासँग सम्बन्धित थियो । रोनाल्डोको हकमा फिफाले उनको लामो अन्तर्राष्ट्रिय यात्रामा रातो कार्डको इतिहास नरहेको कारणसमेत सार्वजनिक गरेको थियो । तर बालोगुनको हकमा त्यस्तो कुनै स्पष्टीकरण दिइएको छैन । यसले निर्णय किन गरियो, कुन आधारमा गरियो र कसले अन्तिम निर्णय गर्यो भन्ने विषयमा फिफा माथि प्रश्न उठाएको छ ।
बालोगुनलाई खेल्न अनुमति दिइएपछि बेल्जियम फुटबल सङ्घले आश्चर्य व्यक्त गर्दै आधिकारिक विरोध जनाएको छ । सङ्घले प्रतियोगिताका नियमअनुसार रातो कार्ड पाउने खेलाडी अर्को खेलमा स्वतः निलम्बित हुनुपर्ने उल्लेख गर्दै फिफाले अनुशासन संहितालाई प्रयोग गरेर प्रतियोगिताकै नियममाथि निर्णय गरेको आरोप लगाएको छ । बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले व्यङ्ग्य गर्दै जुलाई ५ अप्रिल १ जस्तै भएको टिप्पणी गरे । उनले आफूहरू केवल राष्ट्रिय टोलीको होइन, सम्पूर्ण फुटबलको निष्पक्षताको पक्षमा उभिएको बताए ।
कतारका आसिम मादिबोलाई क्यानडाका इस्माएल कोने घाइते भएको घटनापछि पाँच खेलको प्रतिबन्ध दिइएको थियो । त्यस घटनामा मादिबोले जानाजानी खतरनाक चुनौती नदिएको तर्क भए पनि फिफाले थप कडा सजाय सुनाएको थियो । यसको तुलना गर्दा बालोगुनको प्रतिबन्ध हटाइएको निर्णयले समान मापदण्ड अपनाइएको हो कि होइन भन्ने प्रश्न उठेको छ ।
बालोगुनको चुनौती कठोर देखिए पनि धेरै विश्लेषकले त्यो दुर्घटनावश भएको बताएका छन् । तर दुर्घटनावश भएको भन्दै प्रतिबन्ध हटाउने हो भने भविष्यमा यस्तै घटनामा पनि समान व्यवहार गर्नुपर्ने दबाब फिफामाथि पर्नेछ । बालोगुनको प्रतिबन्ध स्थगित गर्ने निर्णयलाई प्रतियोगिताकै विश्वसनीयतामाथि प्रश्न उठाउने कदम भएको भन्दै विश्वभर आलोचना शुरु भएको छ । ठूला खेलाडीलाई प्रतियोगितामा राख्न नियम परिवर्तन गरिनु उचित होइन र यसले धेरै समर्थकमा असन्तुष्टि पैदा गरेको टिप्पणी भइरहेको छ ।
विश्वकपमा पहेँलो कार्ड, भिडियो सहायक निर्णायकको प्रयोग तथा नयाँ नियमको व्याख्यालाई लिएर यसअघि पनि विभिन्न घरेलु लिगमा चिन्ता व्यक्त हुँदै आएको थियो । अब बालोगुनको घटनापछि घरेलु प्रतियोगितामा पनि यस्तै दयालु व्यवहार किन नअपनाउने भन्ने बहस थप चर्किने देखिएको छ । विश्वकपको अन्तिम १६ को प्रतिष्पर्धामा अमेरिकाले भोली बिहान बेल्जियमको सामना गर्दैछ ।