त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको कार्गोबाट सुन र चाँदीजस्ता देखिने धातुका गरगहना बरामद भएपछि दुई जनालाई पक्राउ गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंगलबार साँझ कार्गो कम्प्लेक्स भवनमा जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा रहेको उल्लेख गरिएको कार्गो बाकसको एक्स-रे परीक्षणका क्रममा शंका उत्पन्न भएपछि खोलिएको थियो ।
जाँचका क्रममा घोषणापत्रमा उल्लेख गरिएका सामग्री नभई सुन तथा चाँदीजस्ता देखिने ठूलो परिमाणका धातुका गरगहना फेला परेका थिए । प्रहरीका अनुसार उक्त सामान युनिक कार्गो झापा, बौद्धमार्फत एपेक्स लजिस्टिक प्रालिले काठमाडौंबाट अमेरिका पठाउने तयारी गरेको थियो ।
घटनापछि एपेक्स लजिस्टिकका ४६ वर्षीय सञ्चालक यज्ञराज सुवेदी र युनिक कार्गो झापा, बौद्धका ३४ वर्षीय सञ्चालक रामप्रसाद दाहाललाई पक्राउ गरिएको छ । बरामद गरिएका गरगहना तथा दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सुनजस्ता देखिने धातुका गरगहनामा नौगेडी, चन्द्रमा, जन्तर, विभिन्न प्रकारका ब्रोच, शिरफूल, नेपालको झण्डा अंकित ब्रोच, खुकुरी आकारका ब्रोच, मंगलसूत्र, मोतीमाला, रानीहार र त्रिशूल रहेका छन् ।
यस्तै, चाँदीजस्ता देखिने धातुका गरगहनामा विभिन्न प्रकारका नेकलेस, काँडावाला चुरा, शिरबन्दी सेट, झुम्का, तिलहरी तथा घाँटीमा लगाउने सिक्री बरामद भएको प्रहरीले जनाएको छ ।