Jul 01 2026

Jul 01 2026 | बुधवार, आषाढ १७ गते २०८३

सात दिनपछि हरियो बन्यो सेयर बजार, कारोबारमा पनि सुधार

बुधबार सेयर बजार ४४.५९ अंकले बढेको छ । अघिल्ला सात कारोबार दिनसम्म लगातार घटेको बजार बुधबार बढेको हो ।

यो वृद्धिसँगै नेप्से परिसूचक २६५२ अंकमा कायम भएको छ । बुधबार बजार दिनभरजसो हरियो अंकमा रह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८६ करोडको भयो ।

यसदिन ३६२ वटा धितोपत्रको ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर किनबेच भएको छ। बुधबार २५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।

यसदिन स्नो रिभर्सको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५२२ रूपैयाँ ३० पैसा पुगेको छ।

यस्तै, सिवाइसी नेपाल लघुवित्तको मूल्य १४.२२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५५० रूपैयाँ पुगेको छ।

सर्वाधिक मूल्य घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको मूल्य ५.२१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ८०० रूपैयाँमा झरेको छ

यसैगरी, एनएमबी डिबेन्चरको मूल्य ४.९३ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ७९ रूपैयाँ १० पैसामा सीमित भएको छ।

बुधबार लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २१९ रूपैयाँमा २८ करोड ८४ लाख रूपैयाँको कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.५३ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिंग मिल्स रहेको छ। उक्त कम्पनीको तीन हजार ४०० रूपैयाँमा १७ करोड ५१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.६० प्रतिशतले बढेको छ।