Jul 01 2026

Jul 01 2026 | बुधवार, आषाढ १७ गते २०८३

मुस्ताङमा युरेनियम उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन : शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा  युरेनियम धातुको उत्खनन गर्न कसैसँग सम्झौता नगरेको स्पष्ट गरेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भएको भन्ने सार्बजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको स्पष्ट गरेका हुन् ।

उनले भने- 'मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भएको भन्ने सार्बजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । यो क्षेत्रमा खानी उत्खनन सम्बन्धि कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन । यस सम्बन्धि केहि डिजिटल मिडियामा गरिएको दाबि नेपाल सरकारका सम्बन्धित निकायले खण्डन समेत गरेका छन् ।'

मन्त्री खनालले नेपालको संबिधानको धारा २७९ को प्राकृतिक स्रोत तथा त्यसको उपयोग सम्बन्धमा भएको व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । साथै उनले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पन्चशीलको सिद्धान्तको प्रतिकुल हुने गरि कुनै पनि सम्झौताहरु नगर्ने विषय समेत स्पष्ट गरेका छन् ।