Jun 30 2026

Jun 30 2026 | मंगलवार, आषाढ १६ गते २०८३

अमेरिकी मोडल काइली जेनरविरुद्ध आफ्नै कर्मचारी र पूर्व सेफले दायर गरे मुद्धा

अमेरिकी मोडल तथा व्यवसायी काइली जेनर एक पछि अर्को कानुनी झमेलामा परेकी छन् ।

जेनरविरुद्ध अर्को मुद्दा दर्ता भएको छ । यसअघि उनका दुई कर्मचारीले कार्यस्थलमा दुर्व्यवहार भएको आरोप लगाउँदै मुद्दा दर्ता गराएका थिए । अब उनकी पूर्व सेफले पनि गर्भावस्थामा असुरक्षित अवस्थामा काम गर्न बाध्य बनाइएकाले गर्भपतन भएको दाबी गर्दै अदालत पुगेकी छन् । पिपल्स म्यागजिनका अनुसार लस एन्जलसको अदालतमा जुन २२ मा दर्ता गरिएको मुद्दामा पूर्व सेफले आफू उच्च जोखिमयुक्त गर्भावस्थामा रहेको जानकारी सुपरभाइजरलाई दिएको भए पनि लामो समयसम्म शारीरिक रूपमा कठिन काम गराइएको आरोप लगाएकी छन् ।

उक्त आरोपबारे काइली जेनर वा उनका प्रतिनिधिले हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । उजुरीमा उल्लेख भएअनुसार ती महिलाले नोभेम्बर २०२४ देखि काइलीका लागि काम गर्न थालेकी थिइन् । गर्भावस्थाका कारण केही सुविधा माग्दा पनि बेवास्ता गरिएको र डिसेम्बरमा भारी सामान उकालोमा बोक्न लगाइएकाले आफू चिकित्सकीय आपत्कालीन अवस्थामा पुगेको उनको दाबी छ ।

त्यस्तै, फेब्रुअरी १, २०२५ मा काइलीका एक सन्तानको जन्मदिन कार्यक्रममा काम गर्दा कुनै सहयोग नपाएको र त्यसको भोलिपल्ट अत्यधिक रक्तस्राव भएपछि अस्पताल जाँदा गर्भपतन भएको पुष्टि भएको आरोप मुद्दामा उल्लेख गरिएको छ ।

पूर्व सेफले बाँकी तलब, रोजगारीसँग सम्बन्धित सुविधा तथा क्षतिपूर्तिको माग गरेकी छन् । उनका वकिलले यस मुद्दाले यस्तै अवस्था भोगिरहेका अन्य कर्मचारीलाई पनि न्यायका लागि अगाडि आउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।