Jun 16 2026

Jun 16 2026 | मंगलवार, आषाढ २ गते २०८३

कृषि विकास बैंकको वेबसाइट बन्यो अपांगतामैत्री, डिजिटल सेवामा सबैको पहुँच

कृषि विकास बैंक लिमिटेड ले आफ्नो आधिकारिक वेबसाइटलाई अपांगतामैत्री (Accessible) बनाउँदै सबैका लागि डिजिटल बैंकिङ सेवालाई अझ सहज, सुरक्षित र समावेशी बनाएको छ।

दृष्टिविहीन तथा अन्य प्रकारका अपांगता भएका व्यक्तिहरूले पनि बैंकका डिजिटल सेवाहरू सहज रूपमा उपयोग गर्न सकून् भन्ने उद्देश्यले वेबसाइटमा विभिन्न पहुँचमैत्री सुविधाहरू थप गरिएको बैंकले जनाएको छ। नयाँ अद्यावधिक अन्तर्गत स्क्रिन रिडर सपोर्ट, अक्षरको आकार परिवर्तन गर्ने सुविधा, उच्च कन्ट्रास्ट (High Contrast) विकल्प लगायतका आधुनिक पहुँचसम्बन्धी विशेषताहरू समावेश गरिएको छ।

बैंकका अनुसार यस पहलले प्रविधिमैत्री, समावेशी तथा ग्राहककेन्द्रित बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। डिजिटल पहुँचलाई सबै नागरिकको अधिकारका रूपमा आत्मसात गर्दै बैंकले सहज, सुरक्षित र पहुँचयोग्य बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यका साथ आधुनिक प्रविधिको प्रयोग र सेवाको विस्तारलाई निरन्तरता दिने जनाएको छ।

“सबैको पहुँचमा बैंकिङ, सबैका लागि समान अवसर” भन्ने मूल भावनालाई आत्मसात गर्दै कृषि विकास बैंक लिमिटेडले डिजिटल समावेशिताको दिशामा अर्को महत्वपूर्ण कदम अघि बढाएको छ। बैंकको यो प्रयासले अपांगता भएका व्यक्तिहरूलाई डिजिटल बैंकिङ सेवामा समान पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।