Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

विश्व वातावरण दिवसमा हरिपुर्वामा ‘एक बालबालिका, एक विरुवा’ राष्ट्रिय अभियान सुरु

विश्व वातावरण दिवसको अवसरमा सर्लाहीको हरिपुर्वा नगरपालिकामा ‘एक बालबालिका, एक विरुवा’ राष्ट्रिय अभियान सुरु गरिएको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) को आर्थिक सहयोग, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) र बागमती सेवा समाज नेपाल (BWSN) को साझेदारी तथा हरिपुर्वा नगरपालिकाको समन्वयमा सञ्चालित “बालसमृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजनाअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको हो।

अभियानको उद्घाटन हरिपुर्वा नगरपालिका–९ स्थित मदरसामा आयोजित कार्यक्रममा मदरसाका मौलाना मोहम्मद जामिल वडा नं. ९ का वडा अध्यक्ष सुरेन्द्र महतो कोईरी तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक सीता चौधरीको उपस्थितिमा फलफूलका बिरुवा वितरण गरेर गरिएको थियो। परियोजनाका अनुसार अभियानमार्फत हरिपुर्वा नगरपालिकाभित्र ४ हजारभन्दा बढी बालबालिकालाई फलफूलका बिरुवा वितरण गरिनेछ। जलवायु परिवर्तन तथा बढ्दो विश्वव्यापी तापक्रमबाट उत्पन्न चुनौतीहरूको सामना गर्न बालबालिकालाई वातावरण संरक्षणका गतिविधिमा सक्रिय सहभागी बनाउने अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ।

WhatsApp Image 2026-06-05 at 2.44.22 PM (2).jpeg

अभियानअन्तर्गत बालबालिकाले आफ्ना घर, विद्यालय तथा समुदायमा वृक्षारोपण गर्नेछन्। परिवार, शिक्षक, स्थानीय सरकार तथा सामुदायिक वन उपभोक्ता समूहहरूसँगको सहकार्यमा वातावरण संरक्षणका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। स्थानीय पारिस्थितिकीय प्रणालीअनुकूल बिरुवाको छनोटका लागि स्थानीय सरकार तथा जिल्ला वन कार्यालयसँग समन्वय गरिएको परियोजनाले जनाएको छ।

RRPK की GGO अफिसर सुमोना खनालका अनुसार बालबालिकामा सानै उमेरदेखि प्रकृतिप्रतिको माया, जिम्मेवारीबोध र संरक्षणको भावना विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। “बालबालिकालाई वातावरण संरक्षणका दूतका रूपमा विकास गर्दै दीर्घकालीन वातावरणीय अपनत्व प्रवर्द्धन गर्नु अभियानको मुख्य लक्ष्य हो,” उनले भनिन्। परियोजना कार्यान्वयन भइरहेका सबै क्षेत्रका विद्यालय तथा सामुदायिक समूहलाई अभियानमा सहभागी गराइने RRPK ले जनाएको छ। बालबालिकाको नेतृत्वमा वातावरण संरक्षण तथा हरित भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

WhatsApp Image 2026-06-05 at 2.44.22 PM (1).jpeg

कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न वडा–स्तरीय क्लस्टर गठन गरी RRPK/BWSN का कर्मचारीहरूको समन्वय तथा स्थानीय PD Hearth स्वयंसेविकाहरूको सक्रिय सहभागितामा बिरुवा वितरण गरिने व्यवस्था मिलाइएको छ। साथै, अभियानबारे अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको परियोजनाले जनाएको छ। यसबाट लक्षित बालबालिकासम्म सहज रूपमा फलफूलका बिरुवा पुर्‍याउन र कार्यक्रमलाई व्यवस्थित ढंगले कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।