प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बैठकमा अनुपस्थित हुनु गम्भीर विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलवार बसेको समितिको बैठकमा सभापति गजुरेलले मन्त्रीको यो अनुपस्थितिबारे मन्त्रालयसँग औपचारिक स्पष्टीकरण माग गरिने जानकारी दिए।
पहिलो बैठकमा नै मन्त्री अनुपस्थित भएकोमा प्रश्न उठाउँदै उनले निर्माण तथा यातायातको क्षेत्रमा समाधान गर्नुपर्ने धेरै समस्याहरू भएकाले मन्त्री समितिप्रति उत्तरदायी हुनुपर्ने बताए।
सभापति गजुरेलले भने, ‘यसमा सम्बन्धित मन्त्रालयको मन्त्रीज्यू अनिवार्य हुनुपर्छ भन्ने हामी सबै जनाको धारणा हो। त्यही भएर मन्त्रीज्यूलाई खबर गरेर यो मिटिङ राखिएको हो। अब उहाँसँग समय लिएर भन्दा पनि हामीले चाहिँ एजेण्डाको गाम्भीर्यता बुझेर छलफल राख्छौं।
सभापति गजुरेलले मन्त्रीको अनुपस्थितिको आलोचना मात्र गरेनन्, सडक सुरक्षा र यातायात व्यवस्थापन जस्तो गम्भीर विषयमा सरकारले चासो नै नदिएको समेत बताए ।