कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘बिजनेस मोडेल इनोभेसन’ विधामा प्ल्याटिनम सम्मान प्राप्त गरेको छ। ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाईसी वर्कफ्लो कम्प्लायन्स) सम्बन्धी नवप्रवर्तनकारी प्रणालीको सफल कार्यान्वयनका लागि बैंक उक्त सम्मानबाट सम्मानित भएको हो।
विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र डिजिटल रूपान्तरण अभ्यासलाई सम्मान गर्न इन्फोसिस फिन्याकलद्वारा हरेक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम बैंकिङ क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चका रूपमा परिचित छ।
यस वर्ष विभिन्न ९ विधामा विश्वभरबाट ५०० भन्दा बढी आवेदन प्राप्त भएका थिए। तीमध्ये कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट नवप्रवर्तन प्रस्तुत गर्दै प्ल्याटिनम अवार्ड हासिल गर्न सफल भएको हो।
बैंकका अनुसार उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई थप छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको कडाइका साथ पालना गर्न महत्वपूर्ण सहयोग पुर्याएको छ। डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत सेवा प्रवाहलाई पारदर्शी, भरपर्दो र ग्राहकमैत्री बनाउने दिशामा समेत यस प्रणालीले सकारात्मक योगदान दिएको बैंकले जनाएको छ।
अन्तर्राष्ट्रिय स्तरको यो उपलब्धिसँगै कुमारी बैंकले नवप्रवर्तन, डिजिटल बैंकिङ तथा ग्राहककेन्द्रित सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। बैंकले आगामी दिनमा पनि अत्याधुनिक डिजिटल समाधानहरू विस्तार गर्दै ग्राहकलाई अझ सहज, सुरक्षित र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यो सम्मानले नेपाली बैंकिङ क्षेत्रको नवप्रवर्तन क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक उपस्थितिलाई समेत उजागर गरेको बैंकको विश्वास छ।