Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

पर्सा गाउँपालिकाका ३ हजार २६६ बालबालिकालाई बिरुवा तथा शैक्षिक सामग्री वितरण

विश्व वातावरण दिवसको अवसरमा सर्लाहीको पर्सा गाउँपालिकामा दर्ता भएका ३,२६६ जना बालबालिकालाई फलफूलका बिरुवा तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) को आर्थिक सहयोग, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) र बागमती सेवा समाज नेपाल (BWSN) को साझेदारी तथा पर्सा गाउँपालिकाको समन्वयमा सञ्चालित “बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजनाअन्तर्गत गाउँपालिकाका सबै ६ वटा वडामा रहेका Registered Child (RC) बालबालिकालाई बिरुवा तथा शैक्षिक सामग्री वितरण गरिएको हो।

WhatsApp Image 2026-06-05 at 3.00.33 PM.jpeg

कार्यक्रममा पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव, वन प्राविधिक राजेन्द्र राय, रोजगार शाखा प्रमुख मिथिलेश यादव लगायत RRPK र BWSN का कर्मचारीहरूको उपस्थिति रहेको थियो।

अभियानको मुख्य उद्देश्य बालबालिकालाई वातावरण संरक्षण तथा वृक्षारोपणमा सक्रिय सहभागी बनाउँदै हरित वातावरण निर्माण गर्नुका साथै फलफूलका बिरुवामार्फत पोषणमा समेत टेवा पुर्‍याउनु रहेको आयोजकले जनाएको छ। अभियानअन्तर्गत बालबालिकाले आफ्ना घर, विद्यालय तथा समुदायमा बिरुवा रोपेर संरक्षण गर्ने अपेक्षा गरिएको छ।

WhatsApp Image 2026-06-05 at 3.00.33 PM (2).jpeg

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष धिरेन्द्र राय यादवले बालबालिकाको समग्र विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए। उनले भने, “बालबालिकाको एक हातमा बिरुवा छ, जसले हरित वातावरणको सन्देश दिन्छ भने अर्को हातमा शैक्षिक सामग्री छ, जसले शिक्षामा पहुँच र सिकाइलाई थप सुदृढ बनाउँछ। बालबालिकाको सर्वाङ्गीण विकासका लागि सञ्चालन गरिएका यस्ता कार्यक्रम प्रशंसनीय छन्।”

उनले वातावरण संरक्षण, शिक्षा तथा बालअधिकार प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै कार्यक्रम सञ्चालन गर्ने संस्थाप्रति धन्यवाद व्यक्त गरे। परियोजनाअन्तर्गत बालबालिकामा सानै उमेरदेखि प्रकृतिप्रतिको माया, जिम्मेवारीबोध तथा संरक्षणको भावना विकास गर्ने उद्देश्य राखिएको छ। साथै, उनीहरूलाई वातावरण संरक्षणका दूतका रूपमा विकास गर्दै दीर्घकालीन वातावरणीय अपनत्व प्रवर्द्धन गर्ने लक्ष्य लिइएको परियोजनाले जनाएको छ।

आयोजकका अनुसार स्थानीय सरकार, विद्यालय, अभिभावक तथा समुदायको सहकार्यमा बालबालिकाको नेतृत्वमा वातावरण संरक्षण तथा हरित भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।