Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कप्तान परिवर्तनदेखि सुर्यबंशीको इन्ट्रीसम्म, भारतको टी–२० टिममा ठूलो परिवर्तन हुदै

भारतको टी–२० अन्तर्राष्ट्रिय टोलीमा ठूलो परिवर्तन हुने संकेत देखिएको छ । राष्ट्रिय छनोटकर्ताले सन् २०२८ मा हुने लस एन्जलस ओलम्पिक र सोही वर्ष अस्ट्रेलिया तथा न्युजील्यान्डमा आयोजना हुने टी–२० विश्वकपलाई लक्षित गर्दै श्रेयस अय्यरलाई नयाँ कप्तान बनाउने तयारी गरेका छन् भने १५ वर्षीय प्रतिभाशाली ब्याटर वैभव सूर्यवंशी पहिलो पटक राष्ट्रिय टोलीमा बोलाइने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमणका लागि भारतको टी–२० टोली शनिबार घोषणा हुने कार्यक्रम छ । मार्चमा सम्पन्न टी–२० विश्वकपमा सूर्यकुमार यादवको कप्तानीमा भारतले उपाधि जितेपछि यो पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरिज हुनेछ ।

यद्यपि ३५ वर्षीय सूर्यकुमार भने टोलीबाटै बाहिरिन सक्ने अवस्था रहेको बताइएको छ । सन् २०२६ को टी–२० विश्वकपमा उनले नौ इनिङ्समा २४२ रन मात्र बनाए। उनको स्ट्राइक रेट १३६.७२ रहेको थियो। त्यसपछि सम्पन्न इन्डियन प्रिमियर लिग २०२६ मा पनि उनको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन । उनले १३ इनिङ्समा २७० रन मात्र बनाए, जहाँ उनको औसत २०.७६ र स्ट्राइक रेट १४७.५४ रह्यो ।

३१ वर्षीय श्रेयसले भने डिसेम्बर २०२३ यता भारतका लागि कुनै टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । टोली संयोजनका कारण सूर्यकुमार यादव र तिलक वर्माले मध्यक्रमको स्थान ओगटेपछि श्रेयसलाई अवसर मिल्न सकेको थिएन । उनलाई यस वर्ष जनवरीमा न्युजील्यान्डविरुद्धको घरेलु सिरिजका लागि चोटग्रस्त खेलाडीको विकल्पका रूपमा टोलीमा बोलाइएको थियो । तर त्यसपछिको टी–२० विश्वकपलाई ध्यानमा राख्दै भारतले अन्य खेलाडीलाई प्राथमिकता दिएपछि उनले खेल्ने अवसर पाएनन् ।

यद्यपि कप्तानका रूपमा श्रेयसको रेकर्ड प्रभावशाली छ । उनले सन् २०२४ मा आइपिएलमा कोलकाता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिगको उपाधि दिलाएका थिए । साथै उनले दिल्ली क्यापिटल्सलाई २०२० मा र पञ्जाब किङ्सलाई २०२५ मा प्रतियोगिताको फाइनलसम्म पुर्‍याएका थिए ।

ब्याटिङमा पनि उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । इन्डियन प्रिमियर लिग २०२५ मा उनले ६०४ रन बनाएका थिए, जहाँ उनको स्ट्राइक रेट १७५.०७ थियो। त्यसपछि २०२६ संस्करणमा उनले ४९८ रन बनाउँदै १६८.८१ को स्ट्राइक रेट कायम गरेका थिए ।

लगातार दोस्रो वर्ष भारतीय छनोटकर्ताले कप्तानीमा यस्तो परिवर्तन गर्न लागेका हुन् । सन् २०२५ मा रोहित शर्माले भारतलाई च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका थिए । तर त्यसपछि अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजअघि उनलाई कप्तानीबाट हटाइएको थियो । यद्यपि रोहित टोलीमा भने कायम रहेका थिए ।

यता १५ वर्षीय वैभव सूर्यवंशी भारतको पुरुष राष्ट्रिय टोलीमा छनोट हुने सबैभन्दा कम उमेरका खेलाडीमध्ये एक बन्ने तयारीमा छन् । सन् १९८० को दशकको अन्त्यमा सचिन तेन्दुलकरले राष्ट्रिय टोलीमा स्थान बनाएयता यति कम उमेरमा टोलीमा छनोट हुने खेलाडी विरलै देखिएका छन् । सूर्यवंशीले इन्डियन प्रिमियर लिग २०२६ मा विस्फोटक प्रदर्शन गर्दै ७७६ रन बनाएका थिए। उनको स्ट्राइक रेट २३७.३० रहेको थियो । उनी आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमणअघि उनले जुन ९ देखि २१ सम्म श्रीलङ्कामा आयोजना हुने त्रिकोणात्मक सिरिजमा भारत ‘ए’ टोलीबाट खेल्नेछन् । उक्त प्रतियोगितामा अफगानिस्तान पनि सहभागी हुनेछ ।

भारतले जुन २६ र २८ मा बेलफास्टमा आयरल्यान्डविरुद्ध दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यसपछि जुलाई १ देखि ११ सम्म इङ्ग्ल्यान्डविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने कार्यक्रम रहेको छ ।